जेनेस सोलुसनमा बिजनेस अक्सिजनको साढे ५ करोड रुपैयाँ लगानी, नयाँ सिईओ नियुक्त

  • Technology Khabar | १० जेष्ठ २०७८, सोमबार
जेनेस सोलुसनमा बिजनेस अक्सिजनको साढे ५ करोड रुपैयाँ लगानी, नयाँ सिईओ नियुक्त

काठमाडौं ।

क्लाउड व्यवसायमा काम गरिरहेको कम्पनी जेनेस सोलुसन प्रालिमा साढे ५ करोड रुपैयाँ नयाँ लगानी थपिएको छ । वर्ल्ड बैंक ग्रुप अन्तर्गतको बिजनेस अक्सिजन प्रालिले जेनेस सोलुसनमा साढे ५ करोड रुपैयाँ लगानी गरेको हो ।

क्लाउड कन्सल्टेन्सी क्षेत्रमा काम गरिरहेको कम्पनी जेनेस सोलुसनले सो लगानी रकम आफ्नो विभिन्न रणनैतिक उद्देश्यहरूको परिपूर्तिको लागि प्रयोग गर्ने जनाएको छ । जसअन्तरगत कम्पनीले सेवा, उत्पादनको दायरा विस्तार र व्यवसायिक सीपको स्तरोन्नति लगायतमा खर्च गर्नेछ ।

‘बिजनेस अक्सिजन प्रालिबाट प्राप्त वित्तीय लगानीलाई हामी दक्ष मानव संशाधन र पछिल्ला प्रविधि अपनाई आफ्नो दैनिक कार्य सम्पादनलाई रुपान्तरण गर्न परिचालन गर्ने छौं ।यसले दीर्घकालीन रुपमा देशको सम्पूर्ण सूचना प्रविधि उद्योगलाई नयाँ उचाइमा पुर्याउन एक उत्प्रेरकको भूमिका खेल्ने छ,’ जेनेस सोलुसनका संस्थापक अञ्जनी फुँयालले भने ।

यसका साथै जेनेस सोलुसनले प्रसन्न पोखरेललाई नेपाल कार्यालयको लागि नयाँ प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको छ ।

पोखरेलको आईबीएम, ईएक्सएल, भायानेट कम्युनिकेसन लगायत सूचना प्रविधिको क्षेत्रमा सम्बन्धित विभिन्न संगठनहरुमा अग्रणी स्थानमा बसेर काम गरेको दुई दशक लामो अनुभव रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित: १० जेष्ठ २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...