
काठमाडौं ।
निरन्तर लामो समयसम्म काम गर्दा बर्सेनि लाखौं ब्यक्तिको मृत्यु हुने गरेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले जनाएको छ ।
कामको शिलशिलामा हुने मृत्यु बारे विश्वब्यापी रुपमा पहिलोपटक गरिएको एक अध्ययनले सन् २०१६ मा लामो अवधिसम्म काम गर्नेहरुमध्ये हृदय रोग र घात स्ट्रोकले सात लाख ४५ हजारको निधन भएको देखाएको बीबीसीले उल्लेख गरेको छ ।
सो प्रतिवेदनकाअनुसार दक्षिण पूर्वी एशिया र पश्चिमी प्रशान्त क्षेत्रमा बसोबास गर्ने मानिसहरु लामो समयसम्म काम गर्दा अप्रत्याशित मृत्युको घटनाबाट बढी प्रभावित भएको उल्लेख गरेको छ । विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरस महामारीले उक्त प्रवृत्ति अझै भयावह हुने बताएको छ ।
अनुसन्धानले साताको ३५ देखि ४० घण्टा काम गर्नेको तुलनामा सातामा ५५ घण्टा वा सो भन्दा बढी समयसम्म काम गर्दा ३५ प्रतिशतभन्दा बढी घातको सम्भावना हुने पत्ता लगाएको छ त्यसैगरि हृदय रोगले मृत्यु हुने सम्भावना १७ प्रतिशतभन्दा बढी हुने देखाएको छ ।
अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) सँगको सहकार्यमा उक्त अध्ययन गरिएको थियो जुन अध्ययनअनुसार लामो कार्यअविध समयसम्म काम गर्ने क्रममा मृत्यु हुने तीन चौथाई मानिसहरु अधबैंसे वा वृद्ध उमेर समूहका छन् ।
यदपी सो अध्ययनले अहिलेको महामारीको समयलाई समेटेको छैन् तरपनि विश्व स्वास्थ्य सङ्गठनका अधिकारीहरुले भने कोरोना महामारीले कार्यालयबाहिरबाट रिमोट वर्क वा वर्क फ्रम होम रहेर काम गर्ने र आर्थिक बृद्धि दर कम हुँदै जाँदा बढी समयसम्म काम गर्नुपर्ने जोखिम बढेको बताएका छन् ।
विश्व स्वास्थ्य सङ्गठनका प्राविधिक अधिकृत फ्रयाङ्क पेगाले महामारीको क्रममा देशब्यापी लक डाउन हुँदा साप्ताहिक रुपमा गरिने कामको चाप दश प्रतिशतले बढेको बताए ।
प्रतिवेदनमा उल्लेख गरिएअनुसार धेरै घण्टा काम गर्नु भनेको लगभग कामसँग सम्बन्धित रोगको एक तिहाइ भागको लागि जिम्मेवार हुनु भन्ने थियो र यो सबैभन्दा ठूलो व्यावसायिक रोगको बोझ हो।
प्रकाशित: ३ जेष्ठ २०७८, सोमबार