
काठमाडौं ।
१७ मेका दिन विश्वभर वर्ल्ड टेलिकम्युनिकेशन डे अर्थात् विश्व दूरसञ्चार दिवस मनाइन्छ।
कुनै जमानामा टेलिफोन तथा टेलिग्राफको प्रयोग निकै अनोठो तरिकाले हुन्थ्यो भन्ने सुन्दा आज हामीलाई अचम्म लाग्न सक्छ । तर यस्ता आविस्कार लेविश्वमा खबर तथा सन्देश आदान-प्रदान गर्न निकै सहज बनाएको तथ्य चाहिँ सबैले मनन् गर्नुपर्ने कुरा हो।
आज वर्ल्ड टेलिकम्युनिकेशन डे अर्थात् विश्व दूरसञ्चार दिवस हो। यो दिवस प्रत्येक वर्ष १७ मे का दिन मनाइन्छ। १९ औं शताबदीमा टेलिफोन, टेलिग्राफ मेशिनका माध्यमबाट पहिलो पटक एक ठाउँबाट अर्को ठाउँमा सन्देश पठाउँदा पहिलो फटक टेलिफोनको घण्टि बजेको थियो।
अहिले विश्व दूरसञ्चार क्षेत्रमा निक्कै अगाडि बढिसकेको छ। तर टेलिफोनमा प्रयोग हुने हेलो शब्दको शुरुवात कसरी भयो होला भनेर इतिहास केलाउनु रमाइलो विषय हुन सक्छ।
यो शब्दको प्रयोग सबैभन्दा पहिलो कहिले र कहाँ गर्यो अनि यसको अर्थ के हुन्छ भन्ने विषयमा थुप्रै कहानीहरु प्रचलित छन्। तर कुनै पनि कहानीले सशक्त प्रमाण पेश गर्न भने सकेका छैनन। हेर्नुहोस् यस्ता छन् कहानीहरु:
के ग्राहम बेलले प्रेमिकालाई फोन गर्दा प्रयोगमा ल्याएका थिए?
अलेक्जेन्डर ग्राहम बेलले सन् १८७५ जुन २ तारिखका दिन टेलिफोनको अविष्कार गरेका थिए तर उनलाई यसको पेटेन्ट लिन निकै मेहनत गर्नुपर्यो। सन् १८७६ मार्च ७ मा उनलाई टेलिफोनको पेटेन्ट अधिकार दिइयो।
अहिले हामी टेलिफोन वा मोबाइलमा बोल्दा सबैभन्दा अगाडि हेलो भन्छाैं। ग्राहम बेलले पहिलो पटक आफ्नी प्रेमिका मार्गरेट हेलोलाई फोन गरेको र उनलाइ हेलो भनेर सम्बोधनका रुपमा पहिलो शब्द बोलेका कारण यो शब्द प्रचलनमा आएको बताइन्छ।
आमाले दिक्क लगाएका कारण जन्मियो टेलिफोन
ग्राहम बेल १३ वर्षमै ग्र्याजुयट भएका थिए। यसपछि उनी १६ वर्ष हुँदा एक नामी संगीतज्ञका रुपमा चर्चित भए। बेलकी आमाको कानमा समस्या थियोर उनी कम सुन्दथिन्। आमाको यही समस्याको समाधान कसरी होला भनेर उनी सधैं चिन्तित रहन्थे।
यसै कारणले उनी ध्वनी विज्ञान अर्थात् अकस्टिकको सहायताले आफ्नी आमा तथा उनीजस्तै कान कम सुन्ने व्यक्तिहरुका लागि कुनै यन्त्र बनाउन चाहन्थे।
उनी सबैभन्दा पहिले यस्तै यन्त्र बनाउन सफल भए र त्यसैको अनुसन्धानका सिलसिलामा अन्तत: सबैका लागि बहुउपयोगी टेलिफोनको निर्माण गर्न पनि सक्षम भए।
उनले फोटोटोनको आविस्कार पनि गरे
ग्राहम बेलको आमा जस्तै उनकी पत्नीको पनि सुन्नमा समस्या थियो। यसै कारण बेलले टेलिफोनपछि फोटोटोन नामक यन्त्रको विकास गरे। यो यन्त्रले प्रकाशको किरणका माध्यमबाट एक ठाउँबाट अर्को ठाउँमा आवाज पठाउन मद्दत गर्दथ्यो। तर मानिसहरु यो यन्त्रतर्फ खासै आकर्षित भएनन्। तर पनि हामीले आजभोलि प्रयोगमा ल्याउने अप्टिकल फाइबर ग्राहम बेलकै सिद्धान्तमा आधारित छ।
ग्राहम बेलले कहिले पनि फोनमा हेलो भनेनन्
टेलिफोनमा कुरा शुरु गर्दा हेलो भन्ने चलनसम्बन्धमा एउटा रोचक कहानी छ। बेलकी प्रेमिकाको नाम मारग्रेट हेलो भएकाले बेलले फोनमा कुरा शुरू गर्दा पहिलो पटक हेलो भनेको एकथरीको बुझाइ छ। तर यो कहानी साँचो नभएको बताइन्छ किनकि यस कुराको कुनै आधिकारिक प्रमाण कतै उपलब्ध छैन।
अर्को कुरा बेलले आफ्नी प्रेमिकासँग नै बिहे गरेका थिए जसको नाम म्याबेल गार्डिनर हब्बर्ड थियो। उनीहरुको विवाह सन् १८७७ मा भएको थियो।
अमेरिकी टेलिग्राफ तथा टेलिफोन कम्पनीका दस्तावेजका अनुसार ग्राहम बेलले कहिले पनि हेलो शब्दको प्रयोग गरेका थिएनन्।
बरु उनले सबैभन्दा पहिलो पटक आफ्ना सहयोगीलाई फोनमा ‘कम हियर, अआइ वान्ट टु सी यू’ भनेका थिए। बरु उनले फोनमा कुरा गर्दा ‘अहो’ शब्दको प्रयोग गर्ने गर्थे भनिन्छ।
गल्तीले हेलो भनेका थिए थमस अल्बा एडिसनले
हेलो शब्दको शुरुवात बेलले गरेको भन्ने प्रमाण खासै नपुगेपछि कसले शुरु गर्यो होला त भन्ने जिज्ञासा रहनु स्वाभाविकै हो। पहिले फोनमा कुरा शुरु गर्दा आर यू देयर वा आर यू रेडी टु टक? भन्ने चलन थियो भन्ने मान्यता पनि छ।
अमेरिकी टेलिग्राफ तथा टेलिफोन कम्पनीका दस्तावेज हेर्दा अमेरिकी वैज्ञानिक थमस अल्बा एडिसनलाई यति लामा शब्द मन पर्दैनथे। त्यसैले उनले पहिलो पटक फोनमा कुरा गर्दा झुक्किएर अचानक हेलो शब्दको प्रयोग गरेका थिए भन्नेहरु पनि थुप्रै छन्। त्यसैबेला देखि यो शब्द प्रचलनमा आएको भनाइ पनि व्याप्त छ।
उनले सन् १८७७ मा पिट्सबर्गको सेन्ट्रल डिस्ट्रिक्ट एन्ड प्रिन्टिङ टेलिग्राफ कम्पनीका अध्यक्ष टीबीए स्मिथलाई पत्र लेखेर टेलिफोनमा सबैभन्दा पहिले हेलो भन्नु पर्ने बताएका थिए। त्यसपछि सन् १८८० देखि हेलो शब्दलाई सबैले प्रचलनमा ल्याए।
एटी एन्डटीका अध्यक्ष फ्रेडरिक पेरी फिशले सन् १९०७ मा फोनमा हेलो भन्ने चलनको श्रेय एडिसनलाई दिइनुपर्ने बताएका थिए।
हेलोको अर्थ ‘के छ?’ हो
अक्सफोर्ड इंग्लिश डिक्शनरीका अनुसार हेलो शब्द पुरानो जर्मन शब्द हाला, होलाबाट आएको हो जसलाई माझीहरुले प्रयोग गर्ने गर्थे। यो शब्दको अर्थ के छ? वा के तिमी त्यहाँ छाै? वा के तिमी सुनिरहेका छाै? हुन आउँछ।
रातको समयमा माझीहरुले एक अर्कासँग सम्पर्क गर्नका लागि वा हालखबर आदानप्रदान गर्नका लागि अहोय वा होय शब्दको प्रयोग गर्दथे भनिन्छ।
हेलो शब्दको पहिलो प्रयोग सन् १८२७ मा गरिएको थियो पनि भनिन्छ। यो पुरानो फ्रेन्च अथवा जर्मन शब्द होला/ओला बाट आएको र यसको मतलब के छ? भन्ने हुने पनि कतिपयको भनाइ छ।
सन् १८३० को दशकमा हेलो शब्दको प्रयोग मानिसहरुको ध्यान आकृष्ट गर्नका लागि गरिन्थ्यो भन्ने भनाइ पनि छ। लिखित रुपमा यो शब्द सन् १८३३ मा प्रयोगमा आएको बताइन्छ।
यसलाई उक्त साल नोह वेब्स्टर्स डिक्शनरीमा राखिएको र सन् १९६० तिरदेखि सार्वजनिक रुपमा प्रचलनमा आएको पनि भनिन्छ।
तर इतिहास जे जसो नै भएपनि वा जसले शुरुवात गरेको भए पनि विश्वका अधिकांश मानिस आज पनिमोबाइल वा टेलिफोनमा कुरा गर्दा हेलो भन्न छुटाउँदैनन् भने यसलाई प्रयोग गरेबापत् आजसम्म कसैले कसैलाई रोयल्टी तिर्नुपरेको पनि छैन।
प्रकाशित: ३ जेष्ठ २०७८, सोमबार