Technology Khabar ३ जेष्ठ २०७८, सोमबार
काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले विश्व दूरसञ्चार क्षेत्रमा भएको नविनतम प्रविधि र विकासमा नेपाललाई पनि साथसाथै लानुपर्ने बताएका छन् ।
आज प्राधिकरणद्धारा विश्व दूरसञ्चार तथा सूचना प्रविधि समाज दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले विश्वमा भएका प्रविधिको विकासलाई आत्मसाथ गर्न हालका नियम कानूनहरु समेत संसोधन र परिवर्तन गर्नुपर्ने बताए ।
‘कोभिड संक्रमणको लहर कसरी र कहिलेसम्म आउँछ भन्ने भन्न नसकिने अवस्थामा समयमा भर्चुअल रुपमा नै सेवा दिनुपर्ने/अनलाइनबाटै सेवा दिनुपर्ने अवस्था छ,’ उनले भने ।
उनले अहिलेको कोभिड संक्रमणकालिन समयमा दूरसञ्चार सेवाको अझ आवश्यकता भएको भन्दै नेपालको दूरसञ्चार क्षेत्रले भोग्नुपर्ने चुनौतीहरु र समस्याहरु समेत छलफल गर्नुपर्यो र त्यसको समाधान गर्न पहल गर्नुपर्ने बताए ।
कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सरकारी निकायहरुले प्रविधिमा आधारित सेवा नदिने र समयमा सेवा नदिने हो भने क्षतिपूर्ति दिनुपर्ने बताए ।
उनले प्राधिकरणद्धारा विश्व दूरसञ्चार तथा सूचना प्रविधि समाज दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारी निकायहरुलाई प्रविधिमार्फत सेवा दिनका लागि लागि बाध्य बनाउनुपर्ने बताए ।
‘यसलाई कानूनले नै बाध्यकारी बनाउने र समय तोकेरै कानून जारी नगरेसम्म प्रविधिमा आधारित सेवाहरुमा ढिलाई हुँदै जान्छ । प्रविधिमा आधारित भईसकेपछि सेवाग्राहीहरुलाई समयमा नै सेवा दिन नसके क्षतिपूर्ति दिनुपर्ने कानून बनाउनुपर्छ,’ उनले भने ।
अध्यक्ष खनालले सबै नागरिकहरुलाई दूरसञ्चार क्षेत्रमा आबद्ध गराउन जोड दिईएको बताउँदै त्यसैको लागि फोरजी सेवाको पहुँच प्रतिस्पर्धात्मकरुपमा बिस्तार गरिँदै लगेको जानकारी दिए ।
उनले स्थानीय तहका सबै सरकारी निकाय, विद्यालयहरु, स्वास्थ्य चौकीहरुमा सन् २०२१ भित्रै ब्रोडब्याण्ड पहुँच पुर्याउन धमाधम काम भईरहेको भन्दै सरकारी निकायहरुको सेवा सुविधाहरुलाई बिना भेदभाव प्रविधिको मार्फत सहजरुपमा र छिटोछरितोरुपमा उपलब्ध गराईने योजना हुनुपर्ने बताए ।
कार्यक्रममा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले ग्रामीण र शहरी क्षेत्रमा देखिएको डिजिटल विभेदलाई अन्त्य गर्न काम गर्नुपर्ने बताए ।
‘यसको लागि ग्रामीण क्षेत्रमा ब्रोडब्याण्ड कनेक्सन निर्माण गर्ने काम भईरहेको छ । आगामी दिनमा सबै सेवाहरु डिजिटल रुपमा गर्नुपर्ने र कन्ट्याक्टलेस तथा फेसलेसरुपमा गर्नुपर्ने छ,’ उनले भने ।
ग्रामीणमा भएको पूर्वाधार अझै सक्षम नभएको भन्दै त्यसमा समेत सुधार गर्नुपर्ने र हाम्रा प्रविधिहरु दिगोरुपमा सक्षम हुनुपर्ने छ ।
ग्रामीण क्षेत्रका जनताहरुले सुलभ र सुपथरुपमा डिजिटल सेवाहरु उपलब्ध गराउन मन्त्रालयले नीतिगत व्यवस्थाहरु र कामहरु समेत गर्दै आएको बताए । उनले स्वास्थ्य सेवा अहिलेको अवस्थामा महत्वपूर्ण भएको भन्दै टेलिमेडिसिनको उपयोग गर्नुपर्ने बताए ।
‘हाम्रा पूर्वाधार दूर्गम क्षेत्रहरुका साथै फोरजी/फाइभजी लगायतका नवितम सेवाहरुको लागि समेत पूर्वाधार विकास गर्नुपर्छ र सबैलाई जोडिने अवसर दिनुपर्नेछ,’ सचिव बस्यालले भने ।
प्रकाशित: ३ जेष्ठ २०७८, सोमबार