एफएनसीसीआईको कोभिड परामर्श सेवा, भाईबरबाटै संक्रमितले डाक्टरसँग सल्लाह लिन सकिने

  • Technology Khabar | २५ बैशाख २०७८, शनिबार
एफएनसीसीआईको कोभिड परामर्श सेवा, भाईबरबाटै संक्रमितले डाक्टरसँग सल्लाह लिन सकिने

काठमाडौं ।

नेपाल उद्योग बाणिज्य महासंघले घरबाटै डाक्टरलाई फोन गरेर कोभिड-१९ रोगबाट सुरक्षित हुने बारे जानकारी दिने सेवा शुरु गरेको छ ।

निजी क्षेत्रको छाता संगठन एफएनसीसीआईले एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल अभियानअन्तरगत आजदेखि हेल्लोडाक्टरएफएनसीसीआई सेवा शुरु गरेको हो ।

सो सेवा लिनका लागि कोभिड संक्रमितहरु जो घरमै आइसोलेसनमा बसेका छन उनीहरुले सिधै चिकित्सकको सल्लाह लिन पाउनेछन् ।  कोभिड संक्रमण भएका व्यक्तिहरुले भाईबरमार्फत डाक्टर अन कल सेवा लिन सक्नेछन् ।

यसको लागि भाईबरमा २११११२११११ मा म्यासेज पठाइर भाईबरमार्फत भिडियो कल गरि स्वास्थ्य परामर्श लिनसक्नेछन् । यो सेवा देशभर निशुल्क उपलब्ध गराईएको एफएनसीसीआईले जनाएको छ ।

प्रारम्भमा ५ जना डाक्टरहरूबाट परामर्शको कार्य थालनी गरिने र त्यसका लागि विहान ९ बजे देखि १२ बजेसम्म र दिउसो ३ बजेदेखि ६ बजेसम्मका लागि समय छुट्टयाइएको छ ।

एफएनसीसीआईकाअनुसार नाम दर्ता गर्न विरामीले २११११२११११ भाइवर नम्वरमा म्यासेज गर्नुपर्नेछ र सोही म्यासेजका आधारमा डाक्टरसंगको परामर्शको समय विरामीलाई पठाइने छ । तत्पश्चात डाक्टरहरूले भिडियो कल मार्फत विरामीहरूसंग संवाद गरी स्वास्थ्य परामर्श दिने छन् ।

म्यासेजमा विरामीले आफ्नो नाम, उमेर र ठेगाना खुलाउनु पर्नेछ । यो सेवा निःशुल्क हुने छ भने देशैभरका सबै संक्रमितहरूले यो सेवा लिन सक्ने छन् ।

रोग संक्रमितहरूलाई प्रविधिको प्रयोग मार्फत डाक्टरहरूसंग प्रत्यक्ष भेट गराई उनीहरूलाई स्वास्थ्य परामर्श दिने र आपतकालिन अवस्थामा बाहेक अस्पतालसम्म जान नपर्ने वातावरण बनाई दिने उद्देश्य अनुरुप यो कार्यक्रमको थालनी गरिएको हो । यसबाट कोभिड संक्रमण नियन्त्रणमा समेत सहयोग पुग्ने विश्वास महासंघको छ ।

हेल्लो डाक्टर मार्फत सिधै डाक्टरसंग परामर्श गर्न पाइने हुँदा कोभिड संक्रमित विरामीमा देखिने चिन्तालाई कमी गर्न र विरामीको आत्मबल बढाउन सहयोग पुग्ने दावी महासंघका अध्यक्ष शेखर गोल्छाको छ । महासंघले थालनी गरेको यो स्वास्थ्य अभियानबाट बढी भन्दा बढी लाभ उठाउन अध्यक्ष गोल्छाले सबैमा अनुरोध गरेका छन् । आम सर्वसाधारणको दैनिक जीवनलाई सहज बनाउने कार्यमा महासंघले अग्रभागमा रहेर सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत अध्यक्ष गोल्छाले जनाए ।

प्रकाशित: २५ बैशाख २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार