काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणको दोस्रो चौमासिकमा भौतिक प्रगति ६० प्रतिशत हासिल गरेको जनाएको छ । प्राधिकरणको बोर्ड बैठकमा दोस्रो चौमासिकको हालै गरिएको समिक्षाअनुसार भौतिक प्रगति ६० प्रतिशत देखिएको छ भने पूँजीगत खर्चतर्फ ३० प्रतिशत हाराहारी प्रगति हासिल भएको छ ।
प्राधिकरणकाअनुसार ग्रामिण दूरसञ्चार विकास कोषको रकम खर्च गरेर सञ्चालमा रहेका विभिन्न परियोजनाहरुको प्रगति करिब २७ प्रतिशत हाराहारी देखिएको छ भने प्राधिकरणको आफ्नै कोषबाट परिचालिन विभिन्न परियोजनाहरुको प्रगति करिब ४० प्रतिशत पुगेको छ ।
दोस्रो चौमासिकको समिक्षा बैठकमा प्राधिकरणको नेतृत्वमा सञ्चालन भईरहेका विभिन्न परियोजनाहरु र कार्यहरुको प्रगति सन्तोषजनक देखिएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए ।
‘गत वर्षको कोभिडपछिको अवस्थामा पनि हामीले उल्लेख्य काम गरेका छौं । हालको कोभिड संक्रमण र निषेधाज्ञाले आगामी दिनमा भने काम गर्न र प्रगतिमा चुनौती थपिने देखिएको छ,’ अध्यक्ष खनालले भने ।
उनकाअनुसार दोस्रो चौमासिकपछि पनि करिब २ महिना सकिन लागेको हुँदा प्राधिकरणका कार्यहरुमा सुधार देखिईरहेको र प्रमुख परियोजनाहरुको प्रगति पनि सन्तोषजनक नै देखिएको छ ।
प्राधिकरणले हाल आफ्नो बजेटमार्फत र ग्रामिण दूरसञ्चार विकास कोषको रकम खर्च गरेर देशभर अप्टिकल फाइबर नेटवर्क बिछ्याउने कार्य, स्थानीय निकाय र विद्यालय, स्वास्थ्य चौकीहरुमा ब्रोडब्याण्ड इन्टरनेट सेवा पुर्याउने कार्य, देशभरका सामुदायिक र सरकारी विद्यालयहरुमा सूचना प्रविधि ल्याब स्थापनाको कार्यलगायतका परियोजनाहरु सञ्चालन गरिरहेको छ । यसका साथै विभिन्न नीति नियमहरु बनाउने र संसोधन गर्ने लगायतका योजनाहरुमा समेत काम गरिरहेको छ ।
प्राधिकरणका अनुसार विभिन्न परियोजनाहरुको छुट्टाछुट्टै बिस्तृत प्रगति बिबरण आउन भने अझै केहि दिन लाग्नेछ ।
प्रकाशित: २२ बैशाख २०७८, बुधबार