
काठमाडौं ।
एप्पलका सीईओ टिम कूकले विश्वव्यापी चिप अभावका कारण आईम्याक र आईप्याड उत्पादनमा ढिला हुने बताएका छन्।
कूकले कम्पनीको चाैमासिक आम्दानी सार्वजनिक गर्ने कार्यक्रममा लगानीकर्ताहरुलाई विश्वव्यापी चिप अभावले एप्पललाई निकै प्रभाव पारेको र यसैका कारण आईप्याड र आईम्याकको उत्पादन ढिला हुने बताएका हुन्।
धेरैले विश्वव्यापी चिप अभावले एप्पललाई खासै फरक नपार्ने आकलन गरे पनि कूकले कम्पनीको तर्फबाट यसले आफूलाई पारेको प्रभावबारे आधिकारिक धारणा व्यक्त गरेका हुन्।
अभाव भएको चिपहरु अन्य गाडी उत्पादक तथा टेक कम्पनीहरुले पनि प्रयोग गर्ने भएकाले उनीहरुलाई पनि सेमिकण्डक्टर चिपको जोहो गर्न गाह्रो भैरहेको छ।
हिजोआज कार, टेलिभिजन, गेमिङ सिस्टम तथा होम एप्लायन्स जस्ता सबै उत्पादनहरुमा कम्प्युटर उपयोग हुन्छ। कोरोनाका कारण वर्क फ्रम होमका लागि धेरै डिभाइसको माग र कोरोनाकै कारण आपूर्ति श्रृङ्खला बन्द गरेकाले सेमिकन्डक्टर चिप ज्यादै मूल्यवान चिज बन्न पुग्यो।
कूकले एप्पपले पहिलो त्रैमासमा कुनै पनि प्रकारको अभावलाई सहजै झेल्न सकेको बताउँदै यसका पछाडि कम्पनीले अघिल्लो वर्षदेखि आफ्नै चिप उत्पादन गर्नु रहेको पनि बताए। एप्पलले आफ्ना अन्य डिभाइसमा उच्च स्तरका चिप प्रयोग गर्ने भएकाले अभावले खासै फरक पारेन।
उनले कुन सेमिकन्डक्टरको कच्चा पदार्थ अभाव भएको र कहिलेसम्म समाधान हुन्छ भन्ने खुलाएनन्।
कम्पनीका चिफ फाइनान्स अफिसर ल्युका मास्टेरीले एप्पलले चिप अभावका कारण ३ देखि ४ अर्ब डलर कमाइ गुमाउनुपर्ने बताएका छन्।
‘यो विश्वव्यापी चिप अभाव र आईम्याक र आईप्याडको धेरैभन्दा धेरै मागको संयोजन हो’, उनले भने। डेस्कटप कम्प्युटरको इतिहासमा पहिलो त्रैमासमा आईम्याक सर्वाधिक बिक्री भएको लगानीकर्ताहरुलाई जानकारी दिए। उनले वर्क फ्रम होमका कारण कोरोना महामारीका बीच एप्पलको नाफा बढेको पनि बताए।
समग्रमा एप्पलले अन्य अटो तथा टेक कम्पनीको दाँजोमा चिप अभावलाई सजिलै र कम प्रभावका साथ झेल्न सफल भयो।
*हेडलाइन सम्पादित
प्रकाशित: १७ बैशाख २०७८, शुक्रबार