
काठमाडौं ।
वैशाख महिनामा परेको हिमपातका कारण सोलुखुम्बुको उच्च हिमाली क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध बनेको छ।
बुधबारदेखि लगातार परेको हिमपातका कारण लुक्ला, स्याङ्बोचेलगायतका स्थानमा नेपाल टेलिकमको टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध बनेको स्याङ्बोचेमा कार्यरत कर्मचारी महेश भण्डारीले जानकारी दिए।
हिमपातका कारण कार्यालयको सेवा पनि प्रभावित बनेको उनको भनाइ छ । आरोहण सिजन भएकाले विगतका दिनमा पर्यटकको चहलपहल भए पनि अहिले सुनसानजस्तै छ । नाम्चे क्षेत्रमा हिउँ परेको स्थानीय कपिन्द्र राईले बताए ।
हिउँ परेसँगै गोक्यो क्षेत्रमा आफू हिँडेको भए पनि बाटैमा बस्न बाध्य बनेको सगरमाथा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत विष्णु रोकायले बताए।
कोरोना कहरले थलिएको खुम्बुको पर्यटन यस वर्ष भने केही आशा जगाउँदै आएको छ । फाट्टफुट्ट रूपमा आएका पर्यटक हिमपातमा रमाउने गरेको बताइएको छ । मौसमका कारण पर्यटकको तालिकामा भने प्रभाव पर्ने पथप्रदर्शकहरूले बताएका छन्। गोरखापत्रबाट
प्रकाशित: १० बैशाख २०७८, शुक्रबार