हुम्लामा नेपाल टेलिकम र वर्ल्डलिङ्कको इन्टरनेट सेवा अवरुद्ध

  • Technology Khabar | ८ बैशाख २०७८, बुधबार
हुम्लामा नेपाल टेलिकम र वर्ल्डलिङ्कको इन्टरनेट सेवा अवरुद्ध

काठमाडौं ।

हुम्लामा नेपाल टेलिकम र वर्ल्डलिङ्कको इन्टरनेट सेवा तीन दिनदेखि अवरुद्ध भएको छ । इन्टरनेट अवरुद्ध हुँदा सबै प्रकारका सेवाग्राही मर्कामा परेका छन् । गत शनिबार बिहानदेखि वर्ल्डलिङ्कको र सोही दिन बेलुका नेपाल टेलिकमको सेवा अवरुद्ध भएको हो ।

आइतबार र सोमबार इन्टरनेट सेवाले काम नगरेपछि बैङ्कमा रकम जम्मा गर्न नसकिएको सेवाग्राही उब्जन शाहीले बताए । एडीएसएल सेवाले काम नगरेपछि बैङ्कले सेवा दिन नसक्दा कारोवार बन्द भएको कारण जिल्लाभन्दा बाहिर पैसा पठाउन नसकेको उनको भनाइ छ।

एडीएसएल सेवा मात्र होइन, भीस्याट र फाइवरले समेत काम नगरेपछि बैङ्कले कुनै कारोवार गर्न नसकेको साँग्रीला विकास बैङ्कका प्रबन्धक चन्द्रप्रसाद लम्सालले बताए । इन्टरनेटकै कारण बैङ्कहरूले कुनै वित्तीय कारोवार गर्न पाएका छैनन् । बैङ्कमा कर्मचारी आउने र कार्यालय कुर्ने काम मात्र भएको उनले बताए ।

इन्टरनेटकै कारण सिमकोटका अन्य दुईवटा बैङ्कहरू राष्ट्रिय वाणिज्य बैङ्क र सिटिजन्स बैङ्कमा पनि कारोवार हुन सकेको छैन ।

नेपाल टेलिकमको टावर रहेको कालिकोटको महावुमा रिपिटर टावरमा खराबी आएपछि एडीएसएल सेवा अवरुद्ध भएको टेलिकम नेपालगञ्जका इन्जिनियर सुसिम पौडेलले जानकारी दिए। उक्त क्षेत्रमा रहेको रिपिटर टावर मर्मत गर्ने कार्य भइरहेकाले जुम्लाको माईथाप्लाबाट एडीएसल सेवा सुचारु गरेको भएपनि सर्किटले धान्न नसकेपछि सो स्थानबाट आउने सेवा बन्द गरिएको जानकारी उनले दिए।

प्राविधिकहरू मर्मतस्थलमा पुगेको कारण मर्मत चाँडै सञ्चालनमा आउनसक्ने उनको भनाइ छ । डाटाबाट भने इन्टरनेट सेवा सुचारु रहेको छ ।

वर्ल्डलिङ्कले पनि शनिबारबाट काम गर्न नसकेको सो प्रालिका हुम्ला प्रमुख रामजन रावतले बताए। उनका अनुसार जुम्लाको डाँफेलेकमा रहेको रिपिटर टावरमा खराबी आएपछि तीन दिनदेखि सेवा प्रभावित भएको छ ।

रिपिटर टावरमा बिग्रेको सामान काठामाडौंँबाट ल्याएर जडान गर्नुपर्ने भएकाले केही समय अझै लाग्ने बताइएको छ । गोरखापत्रबाट

प्रकाशित: ८ बैशाख २०७८, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार