एप्पलले आगामी अप्रिल २० मा इभेन्ट गर्ने भ्वाइस असिस्टेन्ट ‘सिरी’को खुलासा

Technology Khabar १ बैशाख २०७८, बुधबार

काठमाडौं ।

एप्पलको आफ्नै डिजिटल भ्वाइस असिस्टेन्ट सिरीले कम्पनीको अबको इभेन्ट अप्रिल २० तारिखमा हुने खुलासा गरेको छ। उक्त इभेन्टमा नयाँ उत्पादन सार्वजनिक तथा घोषणा पनि हुने जनाइएको छ।

यदि यसका बारेमा विस्तृत जानकारी चाहिएमा आफ्नो आईफोन, आईप्याड वा म्याकबुकमा अमेरिकामा आधारित एप्पल आईडीमार्फत् सिरी एप खोल्नुपर्छ। त्यसपछि ‘एप्पलको आगामी इभेन्ट कहिले छ?’ भनेर सोध्नुपर्छ। त्यसको उत्तरमा सिरीले ‘अप्रिल २० मा कुपरटिनोको एप्पल पार्कमा’ भन्ने जानकारी दिन्छ।

एप्पलले साधारणतया आफ्नो इभेन्टको मिति एक हप्ता अगाडि मात्र सार्वजनिक गर्छ। यसैले कम्पनीका तर्फबाट यसको आधिकारिक निर्क्योल आज वा भोलिसम्म भइसक्ने अपेक्षा गर्न सकिन्छ। यो आधिकारिक जानकारीमा इभेन्टमा के के सार्वजनिक वा घोषणा हुनेछन् भन्ने पनि संकेत दिइन्छ।

अघिल्ला महिना आएका अनगिन्ति हल्लाहरुका आधारमा हेर्ने हो भने एप्पलले १२.९ इन्चको आईप्याड प्रो सार्वजनिक गर्नेछ जसमा मिनी एलईडी तथा ए१४एक्स चिप राखिएको हुनेछ।

यसबाहेक ११ इन्चको आईप्याड, आईप्याड मिनी तथा नयाँ एयरपडहरु भने आउन या नआउन पनि सक्छन्।

प्रकाशित: १ बैशाख २०७८, बुधबार

तपाइको प्रतिक्रिया