
काठमाडौं ।
अडियो प्लेटफर्म क्लबहाउसका १३ लाख प्रयोगकर्ताको विवरण एउटा चर्चित ह्याकरहरुको समूहमा लीक भएको छ। शनिबार साइबर न्यूजले प्रकाशित गरेको रिपोर्ट अनुसार लीक भएको विवरणमा क्लबहाउस प्रयोगकर्ताको नाम, सामाजिक सञ्जालमा रहेको नाम सहित अन्य विवरण रहेका छन्।
कम्पनीले यसबारेमा तुरुन्तै कुनै प्रतिक्रिया दिन नमानेको रिपोर्टमा उल्लेख छ। साइबर न्यूजको रिपोर्टमा उक्त ह्याक भएको विवरणका माध्यमबाट ह्याकरहरुले फिशिङ वा ‘पहिचान चोरी’ गरी अन्य प्रयोगकर्तालाई सताउन वा गलत काममा फसाउन प्रयोग हुनसक्ने बताइएको छ।
सन् २०२० को मार्चमा शुरु भएको यो सामाजिक सञ्जाल छोटो समयमा लाखैंमाझ चर्चित भएको थियो। यसमा रहेको अडियो कम्युनिटीमा प्रयोगकर्ताहरुले कुराकानी तथा विभिन्न शीर्षकमा ‘रुम्स’ मा भएका छलफल सुन्न पाउँछन्। हालै कम्पनीको शेयर निस्कासनका लागि ४ अर्ब डलर मूल्याङ्कन गर्ने तयारी भइरहेको बुझिएको छ।
साइबर न्यूजले नै एक हप्ताअघि लिंक्डइनको ५० करोड यूजरको विवरण ह्याक गरेर डार्क वेबमा बिक्रिमा राखिएको समाचार ब्रेक गरेको थियो।
इन्साइट्स नामको सुरक्षा संस्थाका विश्लेषक पल प्रुडहोमले सार्वजनिक भएको विवरण महत्वपूर्ण रहेको र खराब आचरणका व्यक्तिले कर्मचारीको विवरणमार्फत् विभिन्न कम्पनीमाथि साइबर हमला गर्नसक्ने खतरा रहेको बताएका छन्।
प्रकाशित: २९ चैत्र २०७७, आईतवार