क्रिप्टोकरेन्सीबाटै नौ जना नयाँ डलर अर्बपतिहरु थपिए, यी हुन क्रिप्टो बिलेनियरहरु

Technology Khabar २९ चैत्र २०७७, आईतवार

काठमाडौं ।

पछिल्ला दिनहरुमा उच्चरुपमा बढ्दै गएको क्रिप्टोकरेन्सीको बजारले सन् २०२० मा ९ जना नयाँ डलर अर्बपतिहरु थप गरेको छ।हालै फोर्ब्सले सार्वजनिक गरेको विश्वका अर्बपतिहरुको सूचीमा क्रिप्टोकरेन्सीमा आधारित ९ जना नयाँ अर्बपति थपिएका हुन् ।

सन् २०२० को मार्च महिनाको दुई दिनसम्म उच्चतम गिरावट आएर ४ हजारभन्दा तल झरेकोमा डिसेम्बर ३१ मा आइपुग्दा सबैभन्दा महँगो क्रिप्टो करेन्सी बिटक्वाइनको मूल्य २९ हजार डलर पुगेको थियो । यसले उच्च जोखिम मोल्न चाहने लगानीकर्ताहरुका लागि मनग्गे आम्दानी भएको थियो ।

हाल बिटक्वाइनको मूल्य करिब ६० हजार डलर पुगेको छ ।

आलोचनाहरुका बाबजुदपनि क्रिप्टोकरेन्सीको लोकप्रियता र मूल्य उकालो लागिरहेको छ र सन् २०२० मा यसले ९ जना क्रिप्टो बिलेनियर उत्पादन गर्‍यो ।

विश्वका अर्बपतिहरुको वार्षिक सूचीमा १२ जना क्रिप्टो अर्बपतिहरु छन् र त्यसमध्ये ९ जना सन् २०२० मै क्रिप्टोकरेन्सीको मूल्य बढेका कारण अर्बपति बनेका हुन् ।

विश्वका ती एक दर्जन क्रिप्टोकरेन्सी अर्बपतिहरुमध्ये सर्वाधिक धनीचाहिँ ट्रेडिङ कम्पनी अलामेडा रिसर्च तथा डेरिभेटिभ एक्सचेन्ज कम्पनी एफटिएक्सका साम ब्यांकम्यान फ्राएड हुन् । २९ वर्षिय एमआईटी ल्याबबाट स्नातक रहेका उनको कूल सम्पत्ति ८ अर्ब ७० करोड डलर छ।

क्रिप्टोकरेन्सीमा आधारित अर्बपतिहरुको दोश्रो स्थानमा क्वाइनबेसका सीईओ तथा संस्थापक ब्रायन आर्मस्ट्रंग रहेका छन् । उनको कूल सम्पत्ति साढे ६ अर्ब डलर रहेको छ ।

तेश्रो स्थानमा रिप्पल ल्याब्सका सहसंस्थापक क्रिस लार्सेन छन् । उनको सम्पत्ति ३ अर्ब ४० करोड डलर रहेको छ।

त्यसैगरी यस वर्ष नयाँ थपिएका क्रिप्टोकरेन्सी अर्बपतिहरुमा साम ब्यांकम्यान फ्राएड, जेड म्याकलेब २ अर्ब डलरसहित, क्यामरोन विंकलेभोस र टेलर विंकलेभोसको प्रत्येकसँग ३ अर्ब डलरसहित, मिचेल सेलर २.३ अर्ब डलरसहित, म्याथु रोज्याक १.५ अर्ब डलरसहित, टिम ड्रापर १.५ अर्ब डलरसहित, फ्रेड एर्साम १.९ अर्ब डलरसहित, चाङ्गपेङ्ग झाओ  १।९ अर्ब डलरसहित, ब्यारी सिल्बर्ट १.६ अर्ब डलरसहित रहेका छन् ।

विश्वको क्रिप्टोकरेन्सीको बजार पहिलो पटक २ ट्रिलियन डलर नाघेकै दिन फोर्ब्सको उक्त सूचि सार्वजनिक भएको हो । गत जनवरीमा क्रिप्टोकरेन्सीको कूल मूल्य १ ट्रिलियन डलर थियो ।

मार्केट क्यापको आधारमा बिटक्वाइन १.०६ ट्रिलियन डलरसहित पहिलो स्थानमा छ भने त्यसपछि इथेरियम, बाइनान्सस क्वाइन, एक्सआरपी तथा टेथरलगायतका रहेका छन् ।

प्रकाशित: २९ चैत्र २०७७, आईतवार

तपाइको प्रतिक्रिया