Technology Khabar २८ चैत्र २०७७, शनिबार
काठमाडौं ।
एप्पल र क्वालकमलाई एउटा पेटेन्ट उल्लङ्घन गरेको मुद्दामा अदालतले सुनुवाइका लागि बोलाएको छ। यी दुई कम्पनीले प्रयोग गरेको फाइभजी प्रविधिमा रेडियो फ्रिक्वेन्सी क्यालिब्रेशन पेटेन्ट उल्लङ्घन गरेको भन्दै मुद्दा परेको हो।
उक्त प्रविधिको इजाजत लिएको रेड रक नामको कम्पनीले बिहीबार टेक्ससको साउदर्न डिस्ट्रिक्ट कोर्टमा एप्पल र क्वालकमविरुद्ध मुद्दा दायर गरेको थियो। रेड रकसँग ७३४६३१३ नम्बरको वायरलेस ट्रान्सिभर क्यालिब्रेशन पेटेन्ट रहेको छ। यसैले क्वालकमको फाइभजी ट्रान्सिभरमाथि उक्त मुद्दा केन्द्रित छ।
यसमा एप्पल तानिनुमा भने क्वालकमले बनाएको फाइभजी बेसब्याण्ड भएको चिप एप्पलले आईफोन १२ प्रोमा प्रयोग गरेकोले हो।
उक्तमुद्दामा क्वालकमको एसएमआर५२६, एसडीआर८६५ र एसडीएक्स५५एम ट्रान्सिभरले उक्त पेटेन्ट उल्लङ्घन गरेको दावी गरिएको छ। उजुरीकर्ताले उक्त मुद्दाको उपचारका रुपमा एप्पल र क्वालकमलाई पेटेन्ट उल्लङ्घन गर्नबाट रोक्ने, क्षतिपूर्ति तिराउने तथा पेटेन्ट शुल्क भुक्तानी गराउने माग गरेका छन्।
मुद्दा हारेको खण्डमा एप्पल र क्वालकमले पेटेन्ट शुल्क र केही रकम क्षतिपूर्तिस्वरुप रेड रक कम्पनीलाई तिर्नुपर्ने हुन्छ।
प्रकाशित: २८ चैत्र २०७७, शनिबार