
काठमाडौं ।
नोकियाले अप्रिल ८ अर्थात् बिहीबार आफ्नो उत्पादन सार्वजनिक तथा घोषणा कार्यक्रम योजनाअनुसार सम्पन्न गरेको छ।
कार्यक्रममा फाइभजी इनेबल भएको एक्स सिरिजका साथै जी सिरिजका दुई तथा सी सिरिजका दुईवटा एन्ड्रोइड ११ र ११ गो एडिशनका इन्ट्री लेभल फोन पनि सार्वजनिक भएको छ।
यीमध्ये जी सिरिजका फोनमा २ वर्षसम्मा अपरेटिङ सिस्टम अपडेट भइरहनेछ।
यस्ता छन् जी सिरिजका फोन
नोकिया जी२० र जी१०
यी दुवै सेटहरु लगभग उस्तै छन्। तर जी२० मा ४८ मेगिपक्सेलको क्यामरा छ भने जी१० मा १३ मेगिपक्सेलको क्यामरामात्र दिइएको छ।
जी२० मा ४८ मेगापिक्सेलको मुख्य र एउटा ५ मेगापिक्सेलको अल्ट्रवाइड तथा २-२ मेगापिक्सेलको म्याक्रो र डेप्थ सेन्सरका साथमा सेल्फीका लागि ८ मेगापिक्सेलको क्यामरा रहेको छ। जी१० मा भने १३ मेगापिक्सेलको मुख्य र २-२ मेगापिक्सेलको म्याक्रो र डेप्थ सेन्सर दिइए पनि अल्ट्रावाइड एङ्गल लेन्स छैन र सेल्फीका लागि ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा दिइएको छ।
जी२० मा मिडियाटेकको हिलियो जी३५ चिपसेट दिइएको छ भने ४ जीबी र्याम तथा ६४ र १२८ जीबी स्टोरेज दिइएको छ।
जी१० मा भने मिडियाटेकको हिलियो जी२५ चिपसेटको साथमा ३ र ४ जीबी र्याम तथा ३२ र ६४ जीबी स्टोरेजको अप्शन दिइएको छ। दुवैमा एन्ड्रोइड ११ अपरेटिङ सिस्टम छ भने डेडिकेटेड माइक्रोएसडी कार्ड स्लट पनि दिइएको छ।
दुवैको डिस्प्ले एचडी+ ६.५ इन्च एलसीडी रहेको छ भने ५, ०५० एमएएच क्षमताको ब्याट्री रहेको छ। नोकिया जी२० को शुरुवाती मूल्य १६० यूरो तथा जी१० को १४० यूरो तोकिएको छ साथै यी स्मार्टफोनहरु अर्को महिना अर्थात् मेदेखि बजारमा उपलब्ध हुने जनाइएको छ।
प्रकाशित: २७ चैत्र २०७७, शुक्रबार