
काठमाडौं ।
एलन मस्कले स्थापित गरेको स्पेसएक्स टेक्नोलोजीले भारतमा स्याटेलाइट ब्रोडब्यान्ड सेवा उपलब्ध गराउन चुनौतीहरूको सामना गरिरहेको छ।
भारतीय दूरसंचार नियामक प्राधिकरण (ट्राई) तथा भारतीय अन्तरिक्ष अनुसंधान संगठन (इसरो) लाई अमेजन, ह्युजेस, गुगल, माइक्रोसफ्ट र फेसबुक जस्ता कम्पनीहरूको प्रतिनिधित्व गर्ने उद्योग संस्था ब्रोडब्याण्ड इंडिया फोरमले पत्र लेखेको छ र स्पेसएक्सको स्टारलिंक उपग्रह इन्टरनेट सेवा भारतमा बिक्री गर्न रोक्न आग्रह गरेको छ।
यस संस्थाले दावी गरेअनुसार स्पेसएक्ससँग भारतमा यस्तो सेवा सुरू गर्न सरकारको इजाजतपत्र वा आधिकारिकता छैन।
ब्रोडब्याण्ड इंडिया फोरमका अध्यक्ष रामाचन्द्रनले लेखेको पत्रमा ‘यस विषयमा निष्पक्ष प्रतिस्पर्धा, विद्यमान नीति र नियामक मापदण्डहरूको पालना गर्न तुरुन्त हस्तक्षेप गरिनु पर्छ,’ भनिएको छ।
ब्रोडब्यान्ड फोरमका अनुसार, स्पेसएक्स समर्थित स्टारलिंकको न त भारतमा आफ्नै ग्राउन्ड स्टेशन छ, न टेलिकम्युनिकेसन विभागबाट दूरसञ्चार सेवाको अनुमति लिएको छ न त सेवाहरू प्रदान गर्न ईएसआरओको कुनै स्याटेलाइट फ्रिक्वेन्सीको अनुमति पाएको छ ।
यस चिठीलाई आधार बनाउँदै ट्राईका एक वरिष्ठ अधिकारीले यस विषयमा अनुसन्धान हुने बताएका छन् ।
स्पेसएक्सले भारतमा गत फेब्रुअरीदेखि स्टारलिंक स्याटेलाइट इन्टरनेटको बीटा भर्सनको लागि प्रि बुकिङ्ग गरिरहेकोछ भने सेवा सन् २०२२ देखि उपलब्ध गराउने बताएको छ।
तर फोरमले भने बजारमा प्रतिस्पर्धा र समानता कायम गर्न र स्पेसएक्सलाई हालको कानून र नीतिअनुसार मात्र सेवा दिने बनाउन पत्र लेखेको बताईएको छ एजेन्सीका साथ
प्रकाशित: २१ चैत्र २०७७, शनिबार