Technology Khabar ४ चैत्र २०७७, बुधबार
काठमाडौं ।
सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप, इसेवा, आइएमई पे वालेट दुरुपयोग गरी ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–३ बस्ने सिरहाको लहान घर भएका २३ वर्षीय रन्जित यादव छन् । उनले आफूलाई अमेरिकी नागरिक भन्दै सामाजिक सञ्जालबाट ठगी गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
उनलाई महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय मोरङसँगको समन्वयमा विराटनगरबाट पक्राउ गरेको हो ।
सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिहरुसँग कुराकानी गरी विश्वास दिलाई पीडितहरुलाई विभिन्न ईलेक्ट्रोनिक सामानहरु नेपालसम्म डेलिभरी गराइदिने प्रलोभनमा पारी रकम जम्मा गर्न लगाई ठगी गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ ।
रञ्जितले अमेरिकी र अफ्रिकनसँग मिलेर अनलाईनमार्फत ठगी गर्दै आएको प्रहरीले जनाएको छ । उनी विराटनगरमा अंश मनि ट्रान्सफर चलाउँछन् ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।
प्रकाशित: ४ चैत्र २०७७, बुधबार