
काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दूरसञ्चार सेवालाई सहज, सस्तो र गुणस्तरीय बनाउन सरकारले सो सम्बन्धी छुट्टै पूर्वाधार कम्पनी स्थापना गर्ने कामलाई अघि बढाएको बताएका छन् ।
सञ्चार मन्त्रालयमा मंगलबार आयोजित सूचना प्रविधि क्षेत्रका सरोकारबालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले मुलुकलाई समृद्ध बनाउने गरी सूचना प्रविधि क्षेत्रको विकास गर्न आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट बनाउन लागिएको बताएका हुन् ।
त्यसका लागि आवश्यक सुुझाव दिन सम्बन्धित निकायलाई उनले आग्रह गरेको उनका प्रेस संयोजक सन्तोष खड्काले जानकारी दिए।
‘सूचना प्रविधि क्षेत्रको विकास गरेर मुलुकलाई समृद्ध बनाउने गरी आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउने सरकारले योजना बनाएको छ,’ मन्त्री गुरुङले भने, ‘आवश्यक सुुझाव दिन म सरोकारवाला सबैसँग आग्रह गर्दछुु ।’
मन्त्री गुरुङले सरकारले अघि बढाएको ‘डिजिटल नेपाल फ्रेमवर्क’ कार्यक्रमलाई प्रभावकारी बनाउने काममा सहकार्य गरेर अघि बढन निजीक्षेत्रलाई पनि आह्वान गरे। त्यस अवसरमा उनले नागरिक एपलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई सचेत समेत गराए ।
कार्यक्रममा मन्त्री गुरुङले फाइभजी सेवा परीक्षणको लागि समेत निर्णय गरेको जानकारी गराएका थिए ।
प्रकाशित: ३ चैत्र २०७७, मंगलवार