
काठमाडौं ।
पब्जी गेमको डेभलपर कम्पनी क्राफ्टनले भारतको नोड्विन गेमिङ कम्पनीमा २ करोड २४ लाख डलर लगानी गरेको छ।
यसबारेमा दुवै कम्पनीले मंगलबार आधिकारिक जानकारी दिएका हुन्। यो लगानीमार्फत् दक्षिण कोरियाको कम्पनीले कुनै बेला आफ्नो प्रमुख विदेशी बजार रहेको भारतमा फेरि उपस्थिति देखाउन खोजेको स्पष्ट हुन्छ।
स्थानीय गेमिङ कम्पनी नजाराको भगिनी संस्थाका रुपमा रहेको नोड्विन गेमिङ भारतका ठूला गेमिङ कम्पनीहरुमध्ये एक हो।

भारतको गुडगाउँमा हेडक्वार्टर रहेको कम्पनीले ब्लिजार्ड इन्टरटेन्मेन्ट, भल्भ, रायट गेम्स, ईएसएल जस्ता कम्पनीहरुसँग मिलेर इभेन्ट होस्ट गर्ने, कमेन्ट्री सुविधा दिने, कन्टेन्ट बनाएर लाइसेन्स दिने तथा ब्रान्ड र प्रायोजकहरु बटुल्ने काम गरिरहेको छ।
भर्खरै अफ्रिकामा विस्तार भएको नोड्विनले प्राप्त रकम अन्तरराष्ट्रिय बजारमा लगानी गर्ने बताएको छ।
क्राफ्टन र नोड्विनले गत हप्ता साझेदारीमा एसियामा पब्जी गेमको इभेन्ट गर्ने घोषणा गरेका थिए।

‘एस्पोर्ट्स (इलेक्ट्रोनिक स्पोर्ट्स) भविष्यको स्पोर्ट्स इन्टरटेन्मेन्टको वृद्धिका लागि मुख्य खम्बा सावित हुन सक्छ। क्राफ्टनको सहयोग पाएपछि त झन् हामीले भारतमा बनाइरहेको मोबाइल प्रधान बजार बढाउन सक्नेमा अझ विश्वस्त भएका छाैं’, नोड्विन गेमिङका सह संस्थापक तथा प्रबन्धा निर्देशक अक्षत राठीले एउटा विज्ञप्तिमा उल्लेख गरेका छन्।
भारतले गत वर्ष साइबर सुरक्षाको हवाला दिँदै पब्जी गेमका साथै थुप्रै चिनियाँ एपहरुमाथि प्रतिबन्ध लगाएको थियो। क्राफ्टनले भारतमा पब्जी फर्काउन चाहे पनि सकिरहेको थिएन।
भारतको सुरक्षाको चिन्तालाई लिएर क्राफ्टनले आफूहरुले चिनियाँ पब्लिशर टेन्सेन्टसँगको सम्झैता तोडिसकेको र क्लाउडका लागि माइक्रोसफ्टसँग सहकार्य भइसकेको जनाएको छ।

‘क्राफ्टन नोड्विन गेमिङसँग साझेदारी गरेर इलेक्ट्रोनिक स्पोर्ट्सलाई अगाडि बढाउने र भारतमा पनि आफ्ना फ्यानहरु बढाउने सम्बन्धमा उत्साहित छ’, ‘क्राफ्टनका सीइओ चाङ्ग हान किमले एउटा विज्ञप्तिमा भनेका छन्।
यो साझेदारीलाई कायमा राख्दै यस क्षेत्रमा स्थानीय भिडियो गेम, इ-स्पोर्ट्स तथा प्रविधि उद्योगहरुलाई अगाडि बढाउने प्रतिबद्धतालाई कायम राख्न थप लगानीका अवसरहरु खोजी गर्दै जाने पनि किमले जनाएका छन्।
प्रकाशित: २५ फाल्गुन २०७७, मंगलवार