सामसङका पूर्व कर्मचारी अब ‘नथिङ’ कम्पनीका उपाध्यक्ष तथा भारतका महाप्रबन्धक नियुक्त

  • Technology Khabar | १६ फाल्गुन २०७७, आईतवार

काठमाडौं ।

वानप्लस स्मार्टफोनका सहसंस्थापक कार्ल पेइको नयाँ कम्पनी नथिङ टेक्नोलोजीले सामसङका पूर्व उपाध्यक्ष मनु शर्मालाई कम्पनीको उपाध्यक्ष तथा भारतका लागि कम्पनीको महाप्रबन्धक प्रमुख नियुक्त गरेको छ।

टाइम्स अफ इन्डियाका अनुसार शर्माले कार्ल पेइको कम्पनी नथिङको भारतीय शाखा नथिङ इन्डियाको जिम्मेवारी सम्हाल्नेछन्। यस बाहेक उनी मुख्य कम्पनीको उपाध्यक्ष पनि रहनेछन्।

नथिङमा आबद्ध हुनुअघि शर्मा सन् २०२० को डिसेम्बरसम्म सामसङको उत्पादन रणनीति प्रमुख रहेका थिए।

नथिङका संस्थापक कार्ल पेइले नवनियुक्त उपाध्यक्ष तथा भारत क्षेत्रका महाप्रबन्धक शर्माको अनुभव र विगतको रेकर्ड भारतमा नथिङको फैलावटमा कोशेढुङ्गा सावित हुने विचार व्यक्त गरेका बताइएको छ।

भारतमा कार्यालय व्यवस्थापन गर्ने, क्षेत्रभरिको उत्पादन रणनीति, बजारीकरण तथा बिक्री अवलोकन तथा अनुगमन गर्ने शर्माको अबको उत्तरदायित्व रहने बुझिएको छ।

नथिङले यसै ग्रीष्म ऋतुमा एक जोडी इयरबड सार्वजनिक गर्ने घोषणा गरेको छ। शर्माको नियुक्तिले नथिङद्वारा हालसालै तथा भविष्यमा उत्पादन हुने सामग्रीहरु भारतमा पनि उपलब्ध हुने आंकलन गरिएको छ।

प्रकाशित: १६ फाल्गुन २०७७, आईतवार

तपाइको प्रतिक्रिया