
काठमाडौं ।
नेपाल टेलिकमले मुस्ताङको ३८ सय मिटर उचाईमा उच्च गतिको इन्टरनेट जडान गरेको छ । टेलिकमका अनुसार उच्च क्षेत्रमा इन्टरनेट सेवा विस्तार यो नेपालमै पहिलोपटक हो ।
धार्मिक तथा पर्यटकीय मुस्ताङको वारागुङ मुक्तिक्षेत्रमा पहिलोपटक तीव्र गतिको इन्टरनेटका लागि फाइबर टु द होम (एफटीटीएच) प्रविधि विस्तार भएको नेपाल टेलिकम बाग्लुङका वरिष्ठ इन्जिनीयर केशव शर्माले जानकारी दिए ।
नेपाल टेलिकमले देशभर तीव्र गतिको इन्टरनेट सेवा विस्तार गर्ने क्रममा बुधबार वारागुङ मक्तिक्षेत्र १ र २ मा एफटीटीएच फाइबर नेट विस्तार गरेको उनले बताए ।
नेपाल टेलिकम जोमसोम शाखाले वारागुङ मुक्तिक्षेत्रको खिङ्गा, झारकोट, पुराङ रानीपौवा, मुक्तिनाथ, छेङ्गुर, झोङ र पुडाक लगायत गाउँमा तीव्र गतिको इन्टरनेट विस्तार गरेको टेलिकम जोमसोम शाखा प्रमुख सुमनराम श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार टेलिकम जोमसोमले यसअघि मुस्ताङको घरपझोङको ५ वटै वडा र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ को कागबेनीमा इन्टरनेट सेवा विस्तार गरिसकेको समाधानन्यूजले उल्लेख गरेको छ ।
वारागुङ मुक्तिक्षेत्रको वडा १ र २ मा यसअघि स्थानीयले वाइम्याक्स इन्टरनेट सेवा प्रयोग गर्दै आइरहेका थिए । मुक्तिनाथ क्षेत्रका स्थानीय र त्यहाँ पुग्ने पर्यटकले मोबाइल डाटा प्रयोग गर्ने गर्थे ।
मुक्तिक्षेत्रमा सेवा विस्तार भएसँगै पर्यटक र स्थानीयलाई इन्टरनेटको सेवा लिन सजिलो भएको स्थानीय पर्यटन व्यवसायी सुरज गुरुङले बताए ।
नेपाल टेलिकमले गत वर्षदेखि एफटीटीएच प्रविधिमार्फत परम्परागत तामाको तारको साटो सिसा जडित अप्टिकल फाइबर पुर्याई उच्च गतिको इन्टरनेट सेवा प्रदान गरेको हो । टेलिकमले यो सेवा अन्य स्थानीय तहमा क्रमश बिस्तार गरिने जनाएको छ ।
प्रकाशित: १३ फाल्गुन २०७७, बिहीबार