
काठमाडौं ।
नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक भएको छ । नेपालले दक्षिण एशियामै पहिलो पटक माटोको डिजिटल अर्थात विद्युतीय नक्सा बनाएर सार्वजनिक गरेको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तरगत नेसनल सोयल साइन्स रिसर्च सेन्टर (नार्क)ले सो डिजिटल माटो नक्सा तयार पारेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज काठमाडौंमा आयोजित ‘नेपालको डिजिटल माटो नक्साङ्कन’ उद्घाटन कार्यक्रममा सो नक्सा सार्वजनिक गरेका हुन् । नक्सा सार्वजनिक भएसँगै अब वेबसाइटबाटै देशको जुनसुकै स्थानको माटोको जानकारी लिन सकिने छ ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले माटोको अवस्थाबारे तयार पारिएको डिजिटल नक्साका कारण किसानले आफ्नो माटोको अवस्थाका बारेमा बुझेर समस्या भएमा समाधानका उपायका विषयमा विज्ञसँग सल्लाह लिनसक्ने बताए। कृषिमा उपकरणको प्रयोग बढाएर जनशक्ति घटाउनुपर्नेमा उनको जोड थियो।
अहिले कृषिमा जति जनशक्ति क्रियाशील छ त्यो जनशक्ति अन्यत्र लगाउन सकिने उनको भनाइ छ। “कृषि क्षेत्रमा प्रविधिको प्रयोग बढाउँदा मात्रै लागत कम गरेर उत्पादन बढाउन सकिन्छ,” उनले भने ।
प्रधानमन्त्री ओलीले नेपाल खाद्यबालीमा आत्मनिर्भर भए पनि सौखिन खानाका कारण आयात भइरहेको बताए ।
प्रदेश, जिल्ला, पालिका, वडाको मात्रै होइन कुनै बिन्दुमा एक क्लिक गरेपछि त्यहाँको माटोको गुणस्तरबारेमा जानकारी पाउन सकिने गरी डिजिटल नक्सा तयार गरिएको छ ।
सिमेटको प्राविधिक सहयोग र यूएएआईडीको आर्थिक सहयोगमा राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रले डिजिटल नक्सा तयार पारेको हो ।
यो नक्सा नेपालका सबै प्रदेशको प्रतिनिधित्व हुने गरी विभिन्न ५६ जिल्लाबाट कूल २३ हजार २ सय ७३ वटा माटोका नमुनाहरुको परीक्षण गरी तिनको नतिजाको विश्लेषणको आधारमा तयार गरिएको हो ।
नक्सा तयार पार्ने क्रममा स्याटेलाइट इमेजका आधारमा माटोका गुणहरु निर्धारणमा भूमिका खेल्ने विभिन्न वातावरणीय कारकतत्वहरु ९कोभेरियट० मध्ये १६८ वटा तत्वहरुलाई मध्यनजर गरिएको छ ।
यी सबैका आधारमा र्यान्डम फरेष्ट नामक मेसिन लर्निङ प्रणाली प्रयोग गरी विभिन्न स्थान विशेषको माटोका गुणहरुको पूर्वानुमान निकालिएको हो ।
माटोको डिजिटल नक्साबाट भौगलिक स्थान विशेषका माटोको प्रकार थाहा पाउन सकिन्छ । साथै माटोमा रहेको अम्लीयपना, प्राङ्गारिक पदार्थको मात्रा, नाइट्रोजन, फस्फोरस तथा पोटासको मात्रा, सुक्ष्म पोषकतत्व, जिंक, तथा बोरोनको मात्रा थाहा पाउन सकिन्छ ।
डिजिटल नक्सा प्रयोग गर्न सबैभन्दा पहिले नार्कले तयार पारेको वेबसाइट https://soil.narc.gov.np/ मा क्लिक गर्नुहोस् । त्यसपछि म्याप सेक्सनमा जानुहोस् र सोयल म्याप खोल्नुहोस् । त्यसपछि नेभिगेसन प्यानलमा गई टुलमा रहेको जुम बटन प्रयोग गरी म्याप तानेर चाहेको भागलाई ठूलो बनाई हर्नुहोस् ।
अनि पोलिगन टुल छान्ने र कुन एरियामा जाने हो त्यो एरियामा गई चौकोण वा त्रिकोण आकार बनाएर आफुले चाहेको क्षेत्र छानी त्यहाँबाट माटोको बारेमा जानकारी लिन सकिने छ ।
साथै माटोको जानकारी कम्प्युटर वा मोबाइलमा डाउनलोड गर्न समेत सकिने छ ।
प्रकाशित: १२ फाल्गुन २०७७, बुधबार