
काठमाडौं ।
नेपाल राष्ट्र बैंकले सूचना तथा जानकारी व्यवस्थित, सहज र पारदर्शी ढंगले सम्प्रेषण गर्ने उद्देश्यसहित सञ्चार नीति जारी गरेको छ।
राष्ट्र बैंकले जारी गरेको नीतिअनुसार सामाजिक सञ्जालको समेत प्रयोग गर्नेछ । राष्ट्र बैंकले सूचनाको सम्प्रेषणका लागि पत्रपत्रिका, रेडियो टेलिभिजनबाहेक सामाजिक सञ्जाल पनि प्रयोग गर्नेछ।
सम्प्रेषित सूचनाको माध्यमबाट मुलुकको बैंकिङ तथा वित्तीय क्षेत्रको प्रवर्द्धन र स्थायित्वमा टेवा पुर्याउँदै समग्र वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयतामा अभिवृद्धि गर्ने राष्ट्र बैंकले दाबी गरेको छ। त्यस्तै बैंकसँग सम्बन्धित सूचना तथा जानकारी व्यवस्थित, सहज र पारदर्शी ढङ्गले सम्प्रेषण गर्ने बैंकले जनाएको छ ।
हाल राष्ट्र बैंकको सामाजिक सञ्जाल भएपनि त्यति धेरै सक्रिय रहेको छैन् । केन्द्रीय बैंकले फेसबुक र ट्विटर प्रयोग गरिरहेको भएपनि सो निष्क्रिय जस्तै छ ।
राष्ट्र बैंककाअनुसार सामाजिक सञ्जाल सञ्चालनको लागि स्पष्ट व्यवस्था गरेको छ । जसमा बैंकले प्रवाह गर्नुपर्ने सूचना तथा जानकारी बैंकको आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्न सक्नेछ । त्यस्तो सामाजिक सञ्जालको सञ्चालन गभर्नरको कार्यालय, सूचना तथा सञ्चार समन्वय महाशाखाले प्रवक्ता तथा सूचना अधिकारीको समन्वयमा गर्नेछ ।
बैंकले विभिन्न सामाजिक सञ्जालमार्फत बैंकको आधिकारिक पेज वा अकाउन्ट सञ्चालन गरी बैंकका सूचना तथा जानकारी सम्प्रेषण गर्न सक्ने उल्लेख गरेको छ।
सामाजिक सञ्जालमार्फत बैंकका सूचना तथा जानकारी सम्प्रेषण गर्दा बैंकको वेवसाइटमा रहने र नरहने सूचना तथा जानकारी एवम् जनचेतनामूलक सामग्री महाशाखाले प्रकाशन वा प्रसारण गर्ने नीतिमा लेखिएको छ ।
यस बाहेक राष्ट्र बैंकले गभर्नर, डेपुटी गभर्नर, कार्यकारी निर्देशकहरुले के कस्तो सूचना सम्प्रेषण गर्न पाउने भनेर पनि नीतिमा खुलाएको छ। गभर्नरले आफ्नो कार्यक्षेत्र भित्र पर्ने कुनै पनि काम कारवाही तथा मुलुकको आर्थिक तथा वित्तीय अवस्थाका बारेमा कुनै पनि समयमा गभर्नर, डेपुटी गभर्नरहरुले सूचना सम्प्रेषण गर्न पाउने छन्।
प्रकाशित: १२ फाल्गुन २०७७, बुधबार