स्पोटिफाइको सेवा अब नेपालमा उपलब्ध, स्थानीय सिर्जनाकारहरुसँग सहकार्य गर्ने प्रतिबद्धता

  • Technology Khabar | १२ फाल्गुन २०७७, बुधबार
स्पोटिफाइको सेवा अब नेपालमा उपलब्ध, स्थानीय सिर्जनाकारहरुसँग सहकार्य गर्ने प्रतिबद्धता

काठमाडौं ।

स्ट्रिमिङ्ग प्लेटफर्म स्पोटिफाइले नेपालमा पनि आफ्नो सेवा शुरु गरेको घोषणा गरेको छ । कम्पनीले नेपालसहित ८५ नयाँ बजारमा सुरूवात गर्ने र आफ्नो सेवालाई एक अर्ब भन्दा बढी व्यक्तिको लागि ल्याउने घोषणा गरेको छ।

स्पोटिफाइले नेपालसहित पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान माल्दिभ्सलगायतका दक्षिण एशियाली मुलुकहरुमा आफ्नो सेवा उपलब्ध हुने बताएको छ । यसअघि नै भारतमा स्पोटिफाइको सेवा उपलब्ध छ।

यो नयाँ बजार बिस्तार जस्टिन बिबर, प्रिन्स ह्यारी र मेघान मार्कल समावेश रहेको प्रत्यक्ष प्रसारण कार्यक्रममार्फत घोषणा गरिएको हो।

स्पोटिफाईले नयाँ उच्च साउण्ड क्वालिटी सदस्यता सेवा र पोडकास्टहरूको लागि नयाँ विज्ञापन बजार पनि घोषणा गरेको छ।

कम्पनीले सेवा बिस्तार गरेका मध्ये धेरै नयाँ बजार एशिया, अफ्रिका, प्यासिफिक र क्यारिबियनमा विकासशील देशहरू हुन्।

‘यी बजारहरूले एक अर्बभन्दा बढी व्यक्तिको प्रतिनिधित्व गर्दछन्, जसमध्ये आधाले इन्टरनेट प्रयोग गरिरहेकाका छन्,’ स्पोटिफाइका प्रवक्ता एलेक्स नूरस्ट्रोमले भने।

‘बंगलादेश, पाकिस्तान र नाइजेरिया जस्ता हामी जाँदै गरेका केही स्थानहरूमा विश्वमा सबैभन्दा द्रुत बृद्धि हुने इन्टरनेट जनसंख्या छ,’ उनले थपे।

स्विडेनी कम्पनी, जसले एक दशक पहिले आफ्नो सेवा सुरू गर्‍यो, हाल ९३ देशहरूमा उपलब्ध छ भने ३४ करोड ५० लाख मासिक सक्रिय प्रयोगकर्ताहरू छन्।

कम्पनीले निशुल्क र सशुल्क सेवा दिँदै आएको छ भने व्यक्तिगत, विद्यार्थी, डुओ र फ्यामिलीको लागि फरक शुल्क तोकेको छ। नेपालसहितको बजारमा विश्वभरका गीत/संगीत उपलब्ध हुने कम्पनीले उल्लेख गरेको छ ।

कम्पनीले प्रत्येक बजारका लागि स्थानीय सिर्जनाकारहरु र पार्टनरहरुसँग सहकार्य गर्ने जनाएको छ ।

प्रकाशित: १२ फाल्गुन २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...