साइबर ब्यूरोको नाममा कसैले नग्न फोटो र भिडियो मागेमा जानकारी दिन आग्रह

  • Technology Khabar | ५ फाल्गुन २०७७, बुधबार
साइबर ब्यूरोको नाममा कसैले नग्न फोटो र भिडियो मागेमा जानकारी दिन आग्रह

काठमाडौं ।

‘म साइबर क्राइम डिपार्टमेन्ट’ बाट प्रहरी बोलेको हो, भन्दै नग्न फोटो र भिडियो माग्ने क्रम बढ्दै गएको र त्यस्ता क्रियाकलापबाट सचेत रहन नेपाल प्रहरीको साईबर ब्यूरोले आग्रह गरेको छ।

साइबर ब्यूरोका अनुसार ‘म साइबर क्राइम डिपार्टमेन्ट’ बाट प्रहरी बोलेको हो, तपाईको फेसबुक अकाउन्ट ह्याक भएको छ अश्लिल फोटो तथा भिडियोहरु सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, हामीले एक पटकका लागि त्यो हुन् रोकिदिएका छौं । तर भेरिफिकेसनको लागि आफ्नो नग्न फोटो र भिडियो पठाउनुहोस् भन्ने गरेका छन् ।

ल्याण्डलाइन, मोबाइल फोनमा प्राइभेट वा कुनै पनि नदेखिने तथा सामाजिक सञ्जाल फेसबुकमा फेक अकाउन्ट बनाई मेसेन्जरबाट कल गरेर नग्न फोटो र भिडियो माग्ने क्रम बढ्दै गएको प्रति ध्यानाकर्षण भएको ब्यूरोले जनाएको छ।

नग्न फोटो र भिडियो इमेल तथा सामाजिक सञ्जाल फेसबुकको म्यासेञ्जरमा पठाउन लगाउने र त्यसपछि सो इमेल र फेसबुक आइडी, म्यासेन्जर डिएक्टिभेट गर्ने गरेको भन्ने सूचना एवं उजुरी पछिल्लो समय बढ्दै साइबर ब्यूरोका प्रवक्ता नविन्द्र अर्यालले जानकारी दिए।

यसरी प्रविधिको दूरूपयोग गरी गरिएका गैरजिम्मेवार तथा ऐन कानून विपरित कार्य गर्ने प्रति सजग भई त्यसरी झुक्यानमा पार्ने खालका क्रियाकलापबाट सचेत रहन र आफ्ना कुनै पनि व्यक्तिगत विवरण कसैलाई उपलब्ध नगराउन प्रहरीले अनुरोध गरेको छ।

प्रकाशित: ५ फाल्गुन २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...