नेपाली कांग्रेसले भन्यो- सामाजिक सञ्जाल व्यवस्थापनका नाममा अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गरिँदै

  • Technology Khabar | ३ फाल्गुन २०७७, सोमबार
नेपाली कांग्रेसले भन्यो- सामाजिक सञ्जाल व्यवस्थापनका नाममा अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गरिँदै
फाइल

काठमाडौं ।

नेपाली कांग्रेसले सामाजिक सञ्जाल व्यवस्थापनका नाममा अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्न खोजिएको भन्दै विरोध गरेको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार अपिल जारी गर्दै युवा पुस्तालाई सजग बन्न भनेका छन् ।

व्यापक विरोधका बाबजुद सरकारले ‘सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका’ का नाममा सूचना प्रविधि विधेयक ल्याउने तयारी गरेको भन्दै कांग्रेसले आपत्ति प्रकट गरेको हो ।

‘अन्ततः सरकारले व्यापक विरोधका बाबजुद ‘सामाजिक संजाल ब्यवस्थापन निर्देशिका’ का नाममा संसदमा विचाराधीन विवादास्पद सूचना प्रविधि विधेयकलाई नयाँ स्वरुपमा ब्युंताउन लागेकोमा नेपाली कांग्रेस गम्भीर आपत्ति प्रकट गर्दछ,’ उनले भनेका छन्।

त्यसैगरि उनले कामचलाउ सरकारले नागरिक अधिकारलाई प्रभावित गर्ने गरी कुनै पनि कार्यकारी आदेशबाट निर्देशिकाहरु जारी गर्न नहुने नमिल्ने र नपाईने बताएका छन् ।

सामाजिक संजाललाई नियमन गर्ने, मर्यादित र स्वस्थ बनाउने प्रश्नमा कसैको पनि विमती नहुने तर त्यसका लागि विद्यमान कानुनभित्रै आवश्यक प्रावधान रहेको कांग्रेसको भनाइ छ। तर उनले छलफल नगरिकन नै सो निर्देशिका ल्याउन लागेको भन्दै सरकारको नियतमाथि प्रश्न गरेका छन् ।

विज्ञप्तिमा अगाडि लेखिएको छ, ‘सामाजिक सञ्जाललाई नियमन गर्ने, मर्यादित र स्वस्थ बनाउने प्रश्नमा कसैको पनि विमती हुन सक्दैन तर त्यसका लागि विद्यमान कानूनभित्रै आवश्यक प्रावधान छँदैछन् । थप व्यवस्था आवश्यक छ भने पनि वृहत्तर विमर्श बेगर, संसद विघटन भएको समयमा निर्देशिका मार्फत जारी गर्नतर्फ लाग्नुले सरकारको नियत माथि गम्भीर प्रश्न उब्जिएको छ ।’

प्रस्तावित निर्देशिकाको प्रक्रिया अघि नबढाउन सरकारलाई चेतावनी दिँदै कांग्रेसले आज सरकारविरुद्ध देशभर गर्न लागिएको विरोध प्रदर्शनमा यो मुद्दालाई पनि उठाउने उनले जानकारी दिएका छन् ।

प्रकाशित: ३ फाल्गुन २०७७, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार