विद्युतीय भुक्तानीको कारोबार सीमा पुनरावलोकन गर्ने योजनामा राष्ट्र बैंक

  • Technology Khabar | २ फाल्गुन २०७७, आईतवार
विद्युतीय भुक्तानीको कारोबार सीमा पुनरावलोकन गर्ने योजनामा राष्ट्र बैंक
फाइल

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीको हालको कारोबार सीमालाई बढाउने योजना लिएको छ। केन्द्रिय बैंकले पछिल्लो दिनमा विद्युतीय कारोबारलाई प्रबद्र्धन गरिरहेको बेलामा मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा गर्दै विद्युतीय कारोबारलाई प्रोत्साहित गर्न कारोबारको सीमामा समयानुकूल पुनरावलोकन गरिने जनाएको छ।

राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नीतिले हासिल गरेका लक्ष्यहरु र आगामी उपायहरुको बारेमा जानकारी दिँदै क्यूआर कोड लगायतका विद्युतीय कारोबारको प्रवद्र्धनका लागि आवश्यक थप नीतिगत व्यवस्था गरिने बताए ।

यसका साथै विद्युतीय कारोबारको प्रबर्द्धनका लागि वित्तीय साक्षरतामा गरिने निश्चित खर्चहरूलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गणना गर्न सकिने व्यवस्था गरिने नीति समेत राष्ट्र बैंकले लिने भएको छ ।

राष्ट्र बैंकले चालु आवको पहिलो ६ महिनामा गरेको कार्यहरु समेत सार्वजनिक गरेको छ जसअनुसार भुक्तानी प्रणालीलाई सुदृढ गर्नका लागि राष्ट्रिय भुक्तानी स्वीच स्थापनाको कार्य अगाडि बढाएको छ । केन्द्रिय बैंकले यसको लागि नेपाल क्लियरिङ हाउस लिमिटेड (एसीएचएल) लाई जिम्मा दिएको उल्लेख गरेको छ ।

राष्ट्र बैंकले भुक्तानी प्रणाली सुदृढीकरण गर्न र सबै प्रकारका विद्युतीय कारोवारको अभिलेख कायम गर्न नेपाल क्लियरिङ हाउस लिमिटेडलाई राष्ट्रिय भुक्तानी स्वीचको स्थापना गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरिएको जानकारी दिएको छ ।

प्रकाशित: २ फाल्गुन २०७७, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार