
काठमाडौं ।
करिब ६० प्रतिशत जनतामा मोबाइल ब्रोडब्याण्डको पहुँच पुगेको छ । समग्र ब्रोडब्याण्डको पहुँच साढे ८१ प्रतिशतको हाराहारीमा पुगेको अवस्थामा सबैभन्दा धेरै हिस्सा मोबाइल ब्रोडब्याण्डले लिएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको एमआईएस रिपोर्टअनुसार मंसिर महिनामा मोबाइल ब्रोण्डब्याण्डको पहुँच ५९.६७ प्रतिशत पुगेको हो । त्यसैगरि समग्र बोडब्याण्डको पहुँच भने ८१.४९ प्रतिशत रहेको छ ।
मोबाइल ब्रोडब्याण्डमध्येमा पनि सबैभन्दा धेरै प्रयोगकर्ताहरु थ्रीजीमा नै रहेको देखिन्छ । तथ्यांकअनुसार कुल १ करोड १० लाख ६९ हजार ३६० जना थ्रीजी प्रयोगकर्ताहरु रहेका छन् ।
त्यसैगरि त्यसपछि मात्र फोरजीमा आधारित ब्रोडब्याण्ड चलाउने रहेका छन् । फोरजी प्रयोगकर्ताहरु कुल ६६ लाख २२ हजार ३१६ जना रहेका छन भने ईभिडियो चलाउने १ लाख ३६ हजार ५७३ जना मात्र रहेका छन् ।
थ्रीजी प्रयोगकर्ताहरुमध्ये सबैभन्दा धेरै नेपाल टेलिकमका ८४ लाख ७० हजार ३१७ जना छन भने एनसेलका २५ लाख ९९ हजार ०४३ जना रहेका छन् ।
त्यसैगरि फोरजी ब्रोडब्याण्ड कनेक्सनमा जोडिएका मध्ये २२ लाख ५७ हजार ७७२ जना नेपाल टेलिकमका छन भने सबैभन्दा धेरै ग्राहक एनसेलका ४१ लाख ५३ हजार १९० जना रहेका छन् । फोरजी प्रयोगकर्तामध्ये स्मार्ट टेलिकमसँग अझै २ लाख ११ हजार ३५४ जना प्रयोगकर्ता छन्।
तथ्यांकले फिक्ड ब्रोडब्याण्ड वायर्डको सेवाग्राहीहरु २१.०४ प्रतिशत रहेको देखिएको छ भने फिक्स्ड ब्रोडब्याण्ड वायरलेस तर्फ ०.७८ प्रतिशत रहेका छन् ।
ब्रोडब्याण्ड सेवाहरुमध्ये शेयर हिस्साको आधारमा हेर्दा सबैभन्दा धेरै मोबाइल ब्रोडब्याण्डको रहेको छ । मोबाइल ब्रोडब्याण्डले ७३ प्रतिशत हिस्सा ओगटेको छ भने त्यसपछि फिक्स्ड वायर्ड ब्रोडब्याण्ड सेवाको हिस्सा २६ प्रतिशत तथा फिक्स्ड वायरलेसको हिस्सा केबल १ प्रतिशत मात्र रहेको देखिन्छ ।
प्रकाशित: २९ माघ २०७७, बिहीबार