
काठमाडौं ।
चौधरी ग्रुप अन्तर्गतको मोल्दोभामा रहेको दूरसञ्चार कम्पनी मोल्डसेलले त्यहाँका ज्येष्ठ नागरिकलाई निःशुल्क रुपमा स्मार्टफोन र इन्टरनेट वितरण गर्न थालेको छ ।
कम्पनीले संयुक्त राष्ट्र संघ जनसंख्या कोषसँगको सहकार्यमा सो कार्यक्रम गरेको हो ।
नेपालका एकमात्र अर्बपति विनोद चौधरीले हालै सिजीसेलअन्तरगत रहेको मोल्डसेल टेलिकम कम्पनीले निःशुल्क स्मार्टफोन र इन्टरनेट वितरण गरेको जानकारी दिएका छन् ।
नेपालमा दूरसञ्चार सेवा सञ्चालन गर्न प्रयासरत रहेको तर हालसम्म अनुमतिपत्र पाउन नसकेको चौधरी ग्रुपले मोल्दोभामा भने आफ्नो पूर्ण लगानीमा गत एक वर्षदेखि मोबाइल सेवाप्रदायक कम्पनी मोल्डसेल सञ्चालन गर्दै आएको छ ।
उनले शनिवार ट्विट गर्दै आफ्नो कम्पनीले गरेको सामाजिक संस्थागत उत्तरदायित्वको बारेमा जानकारी दिएका छन् । उनले संयुक्त राष्ट्रसंघको यो कार्यक्रम विश्वभर सराहना गरेको उल्लेख गरेका छन् ।
Congratulations to @foundation_cg team for the successful collab with @UNFPA in Moldova, where @FMoldcell offered free smartphones & internet to the elderly people & volunteers taught them how to use it for various purposes. This work is appreciated globally by the @UN. pic.twitter.com/JblUcWU7vX
— Binod Chaudhary (@BinodKChaudhary) February 6, 2021
सीजी कर्प ग्लोबल अन्तर्गतको सीजी सेल टेक्नोलोजीले गत वर्षको फेब्रुअरीमा स्विडिस कम्पनी टेलियाबाट मोल्डसेलको शत प्रतिशत स्वामित्व खरिद गरेको थियो । तीन करोड ११ लाख अमेरिकी डलरमा उक्त कम्पनी खरिद गरेको थियो ।
मोल्डसेल मोल्दोभाको दोस्रो ठूलो टेलिकम कम्पनी हो ।
नेपालमा भने कम्पनी दूरसञ्चार सेवा सञ्चालन गर्न तयार रहेको भएपनि सरकारले भने अयोग्य रहेको भन्दै हालसम्म अनुमति पत्र दिएको छैन् ।
प्रकाशित: २५ माघ २०७७, आईतवार