साइबर सेक्यूरिटी अडिटमा नेपाली फर्महरुलाई प्राथमिकता, धेरैलाई सहभागी गराउन म्याद थपियो

  • Technology Khabar | १४ माघ २०७७, बुधबार
साइबर सेक्यूरिटी अडिटमा नेपाली फर्महरुलाई प्राथमिकता, धेरैलाई सहभागी गराउन म्याद थपियो
फाइल फोटो: नेपाल दूरसञ्चार प्राधिकरणको पुरानो कार्यालय भवन

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले साइबर सेक्यूरिटी अडिट गर्नको लागि तयार पार्न लागेको रोस्टरमा सहभागी हुनका लागि समय थप गरेको छ।

प्राधिकरणले यसैवर्षदेखि दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुको साइबर सेक्यूरिटी अडिट गर्न लागेको छ । त्यसैको लागि प्राधिकरणले साइबर सेक्यूरिटी फर्महरुको रोस्टर तयार पार्न लागेको हो।

यसको लागि प्राधिकरणले गत डिसेम्बर ३० तारिखमा पहिलो पटक सार्वजनिक सूचना जारी गर्दै तोकिएको मापदण्ड र योग्यता पुग्ने कम्पनी तथा विज्ञहरुलाई रोस्टरमा सहभागी हुन आग्रह गरेको थियो ।

साइबर सेक्युरिटी अडिटरको रोस्टर तयार पार्दै दूरसञ्चार प्राधिकरण

हालै दोस्रो पटक सूचना निकाल्दै तोकिएको मापदण्ड र योग्यता पुग्ने फर्म तथा विज्ञहरुलाई रोस्टरमा सहभागी हुन आग्रह गरेको छ ।

विशेषगरि नेपाली साइबर सेक्यूरिटी फर्महरु तथा विज्ञहरुलाई ध्यानमा राखेर रोस्टरमा सहभागी हुने मिति थप गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका निर्देशक बिजयकुमार रोयले नेपाली साइबर सेक्यूरिटी फर्महरुलाई थप सहभागी बनाउन म्याद थप गरिएको बताएका छन् । उनले दूरसञ्चार क्षेत्र निकै महत्वपूर्ण क्षेत्र भएको र यसको साइबर सेक्यूरिटी अडिटले नेपाली संस्थाहरुको क्षमता समेत बढाउने बताए ।

‘हामीले नेपाली फर्महरुलाई ध्यानमा राखेर म्याद बढाएका हौं, नेपाली फर्महरुलाई धेरै भन्दा धेरै सहभागी गराउन सकिएमा उनीहरुको समेत क्षमता अभिवृद्धि हुनेछ,’ निर्देशक रोयले भने ।

उनकाअनुसार दूरसञ्चार प्राधिकरणबाट अनुमति प्राप्त सम्पूर्ण टेलिकम तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले अनिवार्य साइबर सेक्यूरिटी अडिट गर्नुपर्ने कानूनी प्रावधानका कारण नेपाली साइबर सेक्यूरिटी फर्महरु समेत अनुभवी हुनसक्नेछन् ।

प्राधिकरणले यसअघि पहिलो पटक माग गरेको आवेदनमा नेपालीसहित विदेशी साइबर सेक्यूरिटी फर्महरुसमेत सहभागी भएका छन् । जसमा नेपाली बाहेक भारत, यूएई, मलेशियालगायतका साइबर सेक्यूरिटी फर्महरु आएका छन् ।

प्राधिकरणबाट हाल विभिन्न ११ क्याटोगोरीमध्ये टेलिकम अपरेटरहरु ६ वटा नेटवर्क सर्भिस प्रदायक १७ वटा, इन्टरनेट सेवा प्रदायक १२७ वटा सहित १५० भन्दा बढि कम्पनीहरु संचालनमा रहेका छन् । यी सबै कम्पनीहरुले अनिवार्यरुपमा साइबर सेक्यूरिटी अडिट गर्नुपर्नेछ ।

थपिएको म्यादअनुसार आगामी फेब्रुअरी ५ तारिखभित्र प्राधिकरणमा आवेदन दिनुपर्नेछ ।

यो पनि हेर्नुस्-

सबै दूरसञ्चार सेवा प्रदायकहरुले सूचना प्रणालीको अनिवार्य सेक्यूरिटी अडिट गर्नुपर्ने

प्रकाशित: १४ माघ २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...