
काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सबै हिमाली जिल्लामा तत्काल इन्टरनेट सेवा विस्तार गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका छन् ।
नेपाल टेलिकमका पदाधिकारीलाई मंगलबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बोलाएर टेलिकमको टावरलगायतका पूर्वाधारहरुलाई पूर्ण क्षमताकासाथ सञ्चालन गर्न निर्देशन दिएका हुन् ।
मन्त्री गुरुङका प्रेस संयोजक सन्तोष खड्काअनुसार मन्त्री गुरुङले टेलिकमका सबै सेवालाई गुणस्तरीय बनाउन पनि सचेत गराएका थिए ।
सेवा विस्तारको क्रममा ठेकेदार कम्पनीले काम गर्न सकेन भन्नुपर्ने अवस्था नआउने गरी काम गर्नुपर्ने आवश्यक्ता मन्त्री गुरुङले औंल्याए। व्यापारिक फाईदा नहेरी टेलिकमलगायतका सूचना प्रविधिको विकासमा तीव्रताकासाथ काम गर्नुपर्नेमा उहाँले जोड दिए ।
“व्यापारमा फाईदा हुँदैन कि भनेर चुप लागेर नबसौं,” ठेकेदार कम्पनीप्रति संकेत गर्दै मन्त्री गुरुङले भने, “आफूले जिम्मा लिएको जिल्लामा समय अगावै काम सकौं ।” त्यसो हुन सकेमात्रै सरकारको ‘डिजिटल नेपाल’ बनाउने परिकल्पना साकार हुने उनले बताए।
मन्त्री गुरुङले देशमा भ्रष्टाचार र ढिलासुस्तीको अन्त्य गर्न सूचना प्रविधिको विकासमा ढिलाई गर्न नहुने स्पष्ट पारे ।
कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले नेपाल टेलिकमको सेवालाई गुणस्तरीय बनाउन लागिपर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
प्रकाशित: १४ माघ २०७७, बुधबार