
काठमाडौं ।
चालु आर्थिक वर्ष २०७७।७८ को मध्यावधिसम्ममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पूँजीगत खर्च निराशाजनक देखिएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पूँजीगत खर्चको अवस्था समग्र मन्त्रालयहरु मध्ये सबैभन्दा कमजोर र न्यून रहेको देखिएको हो ।
चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षाको अवधिसम्म सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पूँजीगत (विकास) खर्च १.९९ प्रतिशत मात्र गर्न सकेको छ । आब २०७७/७८ का लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि एक अर्ब ८४ करोड रुपैयाँ पूँजीगत बजेट छुट्याइएको थियो ।
त्यसमा मन्त्रालयले हालसम्म जम्मा ४ करोड रुपैयाँ मात्र खर्च गर्न सकेको हो । अघिल्लो वर्षको सोहि अवधिमा मन्त्रालयले ३७ करोड रुपैयाँ खर्च गरेको थियो । गत वर्षको तुलनामा यो वर्ष पूँजीगत खर्चको दरमा ९० प्रतिशतले कमी आएको छ ।

मन्त्रालयका लागि यो वर्ष चालु र पूँजीगत खर्चसहित कुल सात अर्ब २८ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । जसमा २ अर्ब ६ करोड रुपैयाँ अर्थात २८.२८ प्रतिशत खर्च भएको छ। पूँजीगत खर्च जम्मा ४ करोड गर्न सकेको मन्त्रालयले चालु खर्च २ अर्ब २ करोड रुपैयाँ गरेको छ ।
सरकारी कर्मचारीको तलबभत्ता, भाडा, अनुदान, संघसंस्थालाई सहयोगदेखि उच्चपदस्थको भ्रमण र चियानास्ता सम्ममा हुने खर्चलाई चालु खर्चमा आउने गर्दछ ।
त्यसैगरि विकास निर्माणका कार्यहरु पूँजीगत खर्चअन्तरगत आउने गर्दछ ।
मन्त्रालयसँग डिजिटल नेपाल कार्यान्वयनको जिम्मेबारीका साथै नेपालको आफ्नै स्याटेलाइट प्रक्षेपण, सेक्यूरिटी प्रिन्टिङ्ग प्रेस स्थापनासहित सूचना तथा सञ्चार क्षेत्रको विकासको कार्यभार रहेको छ।
यो पनि हेर्नुस्-
नागरिक एप चलाउँदा डाटा शुल्क नलाग्ने बनाईँदै, सञ्चार मन्त्रालयको नियमनकारीलाई निर्देशन
प्रकाशित: १२ माघ २०७७, सोमबार