अस्पतालमा बिरामी कुरुवाको मोबाइल चोरेर ई–बैंकिङ कारोबार, ईन्जिनियरिङसहित २ पक्राउ

  • Technology Khabar | २७ पुष २०७७, सोमबार
अस्पतालमा बिरामी कुरुवाको मोबाइल चोरेर ई–बैंकिङ कारोबार, ईन्जिनियरिङसहित २ पक्राउ

काठमाडौं ।

बानेश्वरको सिभिल अस्पतालमा बिरामी कुरुवाको मोबाइल चोरेर ई–बैंकिङमार्फत लुटपाट भएको छ।

गत ९ पुसमा सुशीलकुमार प्याकुरेल श्रीमतीलाई उपचार गराउन गाइनो वार्डमा बसेर राति निदाएका बेला मोबाइल लुटपाट गरी ई–बैंकिङमार्फत रकम चोरी गरिएको हो।

प्रकरणमा संलग्न दुई जनालाई महानगरीय प्रहरी वृत्त, बानेश्वरले शुक्रबार पक्राउ गरेको छ ।

बानेश्वरका डीएसपी दक्षबहादुर बस्नेतकाअनुसार त्यसरी मोबाइल चोरी गरि रकम लुटपाट गरेर पक्राउ पर्नेमा सप्तरी घर भइ बानेश्वर बस्ने सुरेन्द्रप्रताप कुशवाह र भिमसेनगोला घर भइ ललितपुरको गोदावरी बस्ने पालसाङ लामा छन् ।

बस्नेतका अनुसार चोरी अभियोगमा पटकपटक पक्राउ परेर छुटेका कुशवाहले प्याकुरेल निदाएको बेला चार्जमा राखिएको मोबाइल चोरी गरेका थिए । र मोबाइल खोलेर ई–बैंकिङको पासवर्ड रिसेट गरी दुई लाख ४ हजार रुपैयाँ ९८१७८०९०८८ नम्बरको ई–सेवामा लोड गरेका थिए ।

ललितपुरको गोदावरी बस्दै आएका २९ बर्षिय पालसाङ इन्जिनियर हुन् । उनले सन् २०१४ मा ईलेक्ट्रिकल ईन्जिनियरिङ पुरा गरेका थिए ।

चोरेको मोबाइलबाट जम्मा रकममध्ये एक लाख एनआईसी एसिया बैंकमा रहेको लामाको खातामा ट्रान्सफर गरेको देखिएको बस्नेतले जानकारी दिएका छन् । त्यसैगरि पालसाङ र सुरेन्द्रले मोवाइल बैंकिङको ‘फरगेट पासवर्ड’ विकल्प प्रयोग गरेर १ लाख ६९ हजार र मोबाइल धनि स्वयंको खातामा ३३ हजार ट्रान्सफर गरेका थिए । उनीहरुलाई बैंकिङ कसुर र चोरीमा म्याद लिएर थप अनुसन्धान भइरहेको डिएसपी बस्नेतले बताए ।

प्रहरीका अनुसार लामाले चोरीका ल्यापटप लगायतका सामग्रीको पार्टपुर्जा निकालेर बिक्री गर्न सघाउने गरेको पाइएको छ । यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित: २७ पुष २०७७, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार