
काठमाडौं ।
टेस्ला तथा स्पेसएक्सका सीईओ एलन मस्कको एक ट्वीटले मेसेजिङ्ग एप सिग्नलको भाग्य चम्किएको छ । ह्वाटसएपको प्राइभेसी पोलिसीको विरोध गर्दै मस्कले त्यसको विकल्पको रुपमा सिग्नल एपको प्रयोग गर्न सुझाएका थिए ।
ह्वाट्सएपले जनवरी ८ देखि प्राइभेसी पोलिसी परिवर्तन गरेको छ ।
ह्वाट्सएपको यो नीतिको धेरै विरोध भएको छ । त्यसका साथमा प्रयोगकर्ताहरु ह्वाट्सएपको विकल्प खोज्ने क्रममा थिए । त्यस्तो अवस्थामा विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले ‘यूज सिग्नल’ भन्दै ट्वीट गरेका थिए । उनको यो ट्वीटसँगै सिग्नल एपको प्रयोगमा ह्वात्तै वृद्धि आएको छ ।
सिग्नल एप पहिलो पटक सन् २०१४ मा सार्वजनिक भएको थियो । तर ६ वर्षसम्म सिग्नल एप प्रयोगकर्ताका माझ गुमनाम थियो । तर मार्क जुकरबर्गको स्वामित्वमा रहेको ह्वाट्सएपले प्रयोगकर्ताको गोपनियता नीति अवलम्बन गरेसँगै सिग्नलको भाग्य चम्किएको हो ।
ह्वाट्सएपको गोपनियता नीति परिमार्जन गर्नु अघि सिग्नल एपको प्रयोगकर्ता सिमित मात्र थिए । हाल यसको प्रयोगकर्ता एक करोडभन्दा धेरै पुगिसकेका छन् । निकट भविष्यमा ह्वाट्सएपले आफ्नो गोपनियता नीतिमा पूनविचार नगरे सिग्नलको प्रयोगकर्ता अझै बढ्ने सम्भावना देखिएको छ ।
सिग्नल एप ह्वाट्सएपका पूर्व सह संस्थापक ब्रायन एक्टनले फेसबुकलाई ह्वाट्सएप बेचेपछि स्थापना गरेका हुन् ।
प्रकाशित: २६ पुष २०७७, आईतवार