
काठमाडौं ।
लक्ष्मी बैंकले डिजिटल डिसेम्बर अभियान अन्तर्गत डिजिटल बैंकिङका विशेषता र लाभहरुको बारेमा जनचेतना जगाउने उद्देश्यले ‘माई मोबाइल मनी’ भिडियो प्रतियोगिताको घोषणा गरेको छ।
यस प्रतियोगिता अन्तर्गत सहभागीले बैंकको मोबाइल बैंकिङ सेवासम्बन्धी सृजनात्मक भिडियो तयार गरी पठाउनु पर्नेछ । यसरी प्राप्त भिडियोहरुको भावनात्मक पक्ष, सृजनात्मकता, कथा–वस्तुको गुणवत्ता अनि सान्दर्भिकताको आधारमा विजेता घोषणा गरी विजयी सहभागीलाई रु ५० हजारसम्मको नगद पुरस्कार प्रदान गरिने बैंकले जानकारी दिएको छ।
यस एक महिने अभियान डिजिटल डिसेम्बरको माध्यमबाट बैंकले सेवाग्राहीमा इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ र भाइबर बैंकिङ लगायत डिजिटल विकल्पलाई अपनाउने रुचिको अभिवृद्धि गर्ने व्यापक प्रयास गरेको जनाएको छ।
बैंकको मोबाइल मनी एप गुगल प्ले स्टोर एप्पल स्टोरमा उपलब्ध छ । माइ मोबाइल मनी बैंकको क्राउडसोर्सिङमा आधारित दोस्रो प्रतियोगिता हो । यसअघि बैंकले सञ्चालन गरेको डेबिट कार्डको डिजाइनिङ प्रतियोगितामा उत्साहजनक सहभागिता प्राप्त भएको थियो ।
बैंकले प्राप्त सुझावहरुलाई समेटेर डेबिट कार्डको डिजाइनमा समावेश गरेको छ । ग्राहकहरुलाई आफ्नो रचनात्मक प्रतिभालाई क्रियाशील बनाई बैंकको विविध अभियानहरुमा संलग्न हुने अवसर प्रदान गर्न यस्ता अभियानहरु निरन्तर सञ्चालन गर्ने बैंकको उद्देश्य रहेको छ।
प्रकाशित: १३ पुष २०७७, सोमबार