एप्पलको आईओएस १४.३ र पुराना डिभाइसका लागि आईओएस १२.५ अपडेट जारी

Technology Khabar ३० मंसिर २०७७, मंगलवार

काठमाडौं ।

एप्पलले आईओएस १४ र आईओएस १२ सफ्टवेयरको नयाँ संस्करण सार्वजनिक गरेको छ। एप्पलले नयाँ आईफोन तथा पुराना आईफोन लगायतका सबै डिभाइसहरुका लागि एकैपटक नयाँ अपडेटहरु ल्याएको छ ।

कम्पनीले सोमबार आईफोन र आईप्याडमा आईओएस १४.३ तथा आईप्याडओएस १४.३ सार्वजनिक गरेको हो। त्यसैगरि कम्पनीले पुराना डिभाइसहरुको लागि भने आईओएस १२.५ सार्वजनिक गरेको छ ।

अपडेट गरिएको सो आईओएस १४.३ ले एप्पलको नयाँ फिट्नेस सब्सक्रिप्सन सर्भिस एप ‘फिटनेस प्लस’ र नयाँ फोटो फरम्याट एप ‘प्रो–र फोटो’लाई सपोट गर्दछ।

सोमबार नयाँ आईओएस सँगै सार्वजनिक भएको एप्पलको नयाँ एप ‘फिटनेस प्लस’ले व्यायाम गर्न सिकाउँछ र एप्पल घडी मार्फत प्रयोगकर्ताको स्वास्थ्य बारे रेकर्ड देखाउँछ। ‘फिटनेस प्लस’को सदस्यताको मूल्य प्रति महिना दश अमेरिकी डलर रहेको छ।

यसैगरी अर्को एप ‘प्रो-र(ProRaw) फोटो’ ले बिग्रिएका फोटो फाइललाई मिलाउन मिल्ने सुविधा दिन्छ। यस बाट प्रयोगकर्ताले फोटो इडिट गर्न सक्ने र फोनको फोटोग्राफी क्षमता पनि बढाइदिन्छ।यो फिचरलाई कम्पनीले गएको अक्टोबरमा ल्याउने घोषणा गरेको थियो ।

यी दुई एप विशेषगरी आईफोन १२ प्रो र आईफोन १२ प्रो म्याक्समा प्रयोग हुने बताइएको छ। त्यसैगरि आईओएस १४.३ मा एयरप्याड म्याक्सको लागि समेत सपोर्ट रहेको छ ।

अर्को तर्फ पुराना डिभाइसहरुका लागि जारी गरिएको आईओएस १२.५ अपडेटहरुमा विशेषगरि कोभिड १९ ट्रयाकिङ्ग गर्न सहज बनाईएको छ । त्यसका साथै केहि बगहरु र सेक्यूरिटी अपडेट गरिएको एप्पलले जानकारी दिएको छ ।

आईओएस १४.३ र आईओएस १२.५ अपडेट गर्न आइफोनको सेटिङमा गइ सफ्टवेयर अपडेटमा क्लिक गर्नु पर्छ। यो अपडेट सबैको लागि उपलब्ध भईसकेको छ ।

प्रकाशित: ३० मंसिर २०७७, मंगलवार

तपाइको प्रतिक्रिया