काठमाडौं ।
ललितपुर महानगरपालिकाले आजदेखि सार्वजनिक पोलमा झुण्डिएका इन्टरनेट, टेलिफोन र केबलका तारहरु व्यवस्थापन गर्न शुरु गरेको छ ।
महानगर पालिकाले आजदेखि पुल्चोकको बागमति पुलदेखि पोलमा झुण्डिएका अव्यवस्थित तारलाई व्यवस्थित गर्ने कार्य अघि बढाएको हो ।
महानगरका प्रहरी प्रमुख तथा पूर्व ट्राफिक प्रहरी निरीक्षक सीताराम हाछेथूले आजदेखि तारहरु व्यवस्थित गर्ने कार्य शुरु गरेको जानकारी दिए ।
उनले अव्यवस्थित तारहरुको कारण दुर्घट्ना बढेको र शहरी सौन्दर्यमा समेत समस्या भएको भन्दै त्यसलाई व्यवस्थित बनाउन लागेको जानकारी दिए ।
‘हामीले आजबाट तार व्यवस्थित गर्न शुरु गरेका छौं । अब ४ मिटर भन्दा तल तार झुण्ड्याएर तानेमा तार काटिदिनेछौं,’ महानगरका प्रहरी प्रमुख हाछेथुले टेक्नोलोजीखबरसँग भने ।
उनकाअनुसार हाल सबैलाई जानकारी दिने र व्यवस्थित मात्र गर्ने कार्य शुरु गरिएको छ भने आगामी दिनमा ६ मिटरभन्दा तल तार टाँग्न नदिने योजना रहेको बताए ।
हाल अव्यवस्थित तारलाई एउटै मुठ्ठा बनाएर बाँधिने छभने त्यसको लागि इन्टरनेट, केबल र टेलिकम कम्पनीहरुसँग सहकार्य गरिएको छ ।
उनकाअनुसार महानगरभित्रका तारहरु मिलाउन करिब १ महिना लाग्ने अनुमान गरिएको छ भने त्यसपछि निश्चित आधारमा मात्र तार झुण्ड्याउन दिईनेछ ।
‘तारहरुले गर्दा दुर्घट्नाहरु समेत बढेको छ भने हाम्रा सार्वजनिक सम्पदाहरु समेत तारले छोपिएका छन्,’ उनले भने, ‘सेवा प्रदायकहरुले जहाँ मन लाग्यो त्यहिँबाट तार तानिरहेका छन्, त्यसलाई रोक्नुपर्छ ।’
तार व्यवस्थापनको क्रममा कतिपय स्थानमा इन्टरनेट तथा केबलका तारहरु समेत काटिएका छन् । तर अहिले हरेक क्षेत्र अनलाइनमा आधारित भएको हुँदा कसैलाई समस्या नहोस भनेर सेवा प्रदायकलाई सँगै राखेर मर्मतको काम पनि गरिरहेको उनले बताए ।
त्यसैगरि उनले तारमा परेर कुनै दुर्घट्ना भए त्यसको जिम्मेवारी सम्बन्धित कम्पनीलाई बनाउने र क्षतिपूर्ति समेत गराउने व्यवस्था गर्ने बताए ।
महानगरपालिकाले आजदेखि शुरु गरेको तार व्यवस्थापनको अभियानमा हाल ८० जना परिचालन भएको उनले जानकारी दिए ।
प्रकाशित: २१ मंसिर २०७७, आईतवार