प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक ह्याक, ह्याकरद्धारा चिनियाँ उत्पादनको प्रचार

Technology Khabar १९ मंसिर २०७७, शुक्रबार

काठमाडौं ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेज ह्याक भएको छ। शुक्रबार बिहान मुख्यमन्त्री राउतको फेसबुक ह्याक भएको हो।

मुख्यमन्त्री राउतको फेसबुक पेजको प्रोफाइल फोटोमा एक जना युवतीको तस्विर छ भने कभर फोटोमा जंगलको तस्बिर राखिएको छ।

सो फेसबुक पेजलाई करिब ४५ मिनेट अगाडि परिवर्तन गरिएको देखिन्छ । सो फेसबुक पेजलाई चिनियाँ ह्याकरहरुले ह्याक गरेको देखिएको छ ।

जहाँ राखिएको अंग्रेजीमा ‘सिएम लालबाबुराउत एडेड अ बटन टू हेल्प यूु भन्ने बटनमा क्लिक गर्दा चिनियाँ उत्पादनहरुको विज्ञापन भएको साइटमा पुगिन्छ ।

फेसबुक पेजमा नै सो एकाउन्टलाई ‘इकमर्श साइट’ भनेर ह्याकरले परिवर्तन गरिदिएको छ ।

ह्याक भएको पेजमा हाल एनटिएमआरयूएलआर डट सीएनको वेबसाइटको नाम राखिएको छ ।

सबैभन्दा पहिलो समाचार प्रकाशित गरेको सेतोपाटीले उनका प्रेस संयोजकसँग कुरा गरेर सो ह्याकको पुष्टि गरेको छ । राउतका प्रेस संयोजक आतिश मिश्रले भने, ‘ह्याक कहाँबाट र कसरी भएको हो भन्नेबारे छानबिन हुँदैछ।’

उनको फेसबुक पेज ह्याक भएपनि त्यहाँ भएका पुराना पोस्ट र अन्य जानकारीहरु भने यथावत नै छन् ।

प्रकाशित: १९ मंसिर २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया