वैदेशिक रोजगारीमा जानेको बीमाको भुक्तानी अनलाइनबाटै

  • Technology Khabar | १८ मंसिर २०७७, बिहीबार
वैदेशिक रोजगारीमा जानेको बीमाको भुक्तानी अनलाइनबाटै

काठमाडौं ।

वैदेशिक रोजगारीका लागि गरिने म्यादी जीवन बीमा तथा कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने रकम अबदेखि अनलाइनबाटै भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ ।

वैदेशिक रोजगार विभागले बुधबार एक सूचना जारी गर्दै वैदेशिक रोजगार नियमावली २०६४ को नियम २४ बमोजिम श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकले वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने रकम विद्युतीय माध्यमबाट समेत भुक्तानी गर्न सकिने व्यवस्था गरेको जनाएको हो ।

सेवाग्राहीलाई सहज सेवा प्रदान गर्ने योजनाबमोजिम भुक्तानी सेवा प्रदायक संस्थाहरुबाट सेवा लिएबापत सेवाग्राहीले कुनै पनि थप शुल्क तिर्न नपर्ने उल्लेख गरिएको छ ।

विभागका महानिर्देशक कुमार दाहालले भुक्तानी सेवा प्रदायक संस्थाहरू ई–सेवा, फोन पे प्रालि, स्प्यारो पे प्रालिबाट म्यादी जीवन बीमा तथा कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने रकम अनलाइनमार्फत नै भुक्तानी गर्न सकिने व्यवस्था गरिएको जानकारी दिए ।

नेपाल लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडबाट अनलाइन बीमा जारी हुने पनि उनले जानकारी दिए ।

यस्तै कल्याणकारी कोषको रकम व्यक्तिगत र संस्थागत दुवै किसिमको भुक्तानी गर्न सकिन्छ । आफैँले वा आफ्नो साथीभाइको मद्दतबाट रोजगारको अवसर खोजी श्रम स्वीकृति लिने प्रक्रियामा भएका व्यक्तिले भुक्तानी सेवा प्रदायक संस्थाहरूबाट व्यक्तिगत रुपमा कल्याणकारी कोषमा रकम बुझाउन सकिनेछ । म्यानपावरमार्फत वैदेशिक रोजगारमा पठाउने म्यानपावर कम्पनीले पनि एकमुष्ट कल्याणकारी कोषमा रकम बुझाउन सक्ने जनाइएको छ ।

प्रकाशित: १८ मंसिर २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार