चार लाख शब्द समावेश भएको संस्कृत नेपाली विद्युतीय शब्दकोश मोबाइल एपमा उपलब्ध

  • Technology Khabar | ५ मंसिर २०७७, शुक्रबार
चार लाख शब्द समावेश भएको संस्कृत नेपाली विद्युतीय शब्दकोश मोबाइल एपमा उपलब्ध

काठमाडौं ।

स्वामी केशवानन्द गिरिले विश्वमै ठूलो संस्कृत–नेपाली विद्युतीय शब्दकोश निर्माण गरी सार्वजनिक गरेका छन् । यो विद्युतीय शब्दकोशबाट संस्कृत, नेपाली, हिन्दी र अङ्ग्रेजी चार भाषाका शब्दको अर्थ थाहा पाउन सकिन्छ ।

शब्दकोशमा चारवटै भाषाका गरी चार लाख शब्दको अर्थ समावेश गरिएको छ । शब्दकोष एण्ड्रोइड मोबाइलमा डाउनलोड गरी उपयोग गर्न सकिन्छ । यसैगरी वेबसाइटमा केएन स्वामी डटकममा गएपछि चार भाषाका करिब चार लाख शब्द खोज्न सकिने शब्दकोश निर्माणकर्ता स्वामी केशवानन्दले जानकारी दिए ।

यी चार भाषाका शब्द ‘फूल टेक्स्ट’ खोज्न यो एप र वेबसाइट उपयोगी हुनेछ । एउटा शब्दको चारै भाषाका अर्थ थाहा पाउन सकिनेछ ।

शब्दकोशमा संस्कृतबाट नेपालीका एक लाख, संस्कृतबाट संस्कृतका डेढ लाख, संस्कृतबाट हिन्दी ५० हजार र संस्कृतबाट अङ्ग्रेजीका ५० हजार गरी चार लाख शब्द सामावेश गरिएको छ ।

धातु र त्यसको कृदन्त रूप ५० हजार गरी चार लाख शब्दको ज्ञान कोशबाट वेबसाइट वा एपमा गएर हेर्न सकिने गरी समावेश गरिएको उनले बताए ।

संस्कृत शब्दको अर्थ जान्न चाहने, संस्कृतका विद्यार्थी, अध्ययन एवं अनुसन्धान गर्न चाहनेका लागि शब्दकोश उपयोगी छ ।

शिलालेख, प्राचीन अभिलेख लगायतका सामग्रीको अध्ययनका लागि पनि यो शब्दकोश महत्वपूर्ण सामग्री हुनेछ । संस्कृतका दुई शब्दकोश ‘वाचस्पत्यम्’ र ‘शब्दकल्पद्रुम’ का सबै शब्द टाइप गरेर विद्युतीय माध्यमबाट हेर्न सकिने बनाइएको छ ।

‘वाचस्पत्यम्’ सन् १८७० मा तारानाथ तर्क वाचस्पति भट्टाचार्यले तयार पारेको कोश हो । यसैगरी ‘शब्दकल्पद्रुम’ सन् १८५९ मा राजा राधाकान्तदेवले तयार पारेको कोश हो । दुवै कोशका सबै शब्द विद्युतीय माध्यममा राखिएको छ ।

यसैगरी वामन शिवराम आप्टेको सन् १९६६ मा प्रकाशित संस्कृत–हिन्दी र सन् १८९० मा प्रकाशित संस्कृत–अङ्ग्रेजी कोशका समेत सबै शब्द विद्युतीय माध्यममा राखिएको छ ।

नेपाल संस्कृत विश्वविद्यालयले प्रकाशन गरेको बृहत् नेपाली–संस्कृत शब्दकोश, कुलचन्द्र गौतमको संस्कृत–नेपाली कोश, संस्कृत–कन्नड कोश, मुनियर निलिम्सको संस्कृत–अङ्ग्रेजी कोश पनि टाइप गरेर विद्युतीय माध्यममा समावेश गरिएको छ ।

यसैगरी नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको नेपाली बृहत् शब्दकोशका पनि सबै शब्द अब एण्ड्रोइड एप र वेबसाइटमा एकसाथ राखिएको छ ।

धातुको व्युत्पत्ति भने केशवानन्दले आफैँ अनुवाद गरेर राखेका हुन् । नेपाली कोशमा व्युत्पत्ति र धातुको अर्थ थपेर समावेश गरिएको छ । यसैगरी धातुमा उपसर्ग लगाउँदाको अर्थ समेत विद्युतीय माध्यमबाट खोजी गर्न सक्ने गरी समावेश गरिएको छ । धातुको रूप भने केही समयमा राख्ने सोचमा उनी छन् ।

यी सबै विषय समावेश गरिएको एकीकृत कोश विश्वमै पहिलो भएको उनको भनाइ छ । यस वर्ष विजयादशमीको अवसरमा यो विद्युतीय कोश शुभारम्भ गरिएको हो ।

कोशको मोबाइल एप हालसम्म तीन हजार जनाले डाउनलोड गरिसकेका छन् । डाउनलोड गर्नेबाट आएको प्रतिक्रिया सकारात्मक रहेको जनाइएको छ ।

एण्ड्रोइड फाइभ भर्जनभन्दा माथिका मोबाइलमा यो कोश खुल्ने गरेको छ । मोबाइल एप १२६ एमबीको भएकाले एक जिबी डाटा आवश्यक पर्नेछ ।

कोश एप र वेबसाइटमा उपलब्ध भएपछि यसका प्रयोगकर्ता ठूला/ठूला शब्दकोश बोकेर हिँड्नुपर्ने, पल्टाउनुपर्ने झन्झटबाट मुक्त भएका छन् । प्रयोगकर्ताका माझ यो सजिलो शब्दकोशका रूपमा आएको छ ।

गुरुकुलमा आफूले निःशुल्क शिक्षा आर्जन गरेकाले करिब रु ५० लाखको लागतमा यो विद्युतीय कोश निर्माण गरी बिना शुल्क पाठकका लागि उपलब्ध गराएको उनले बताए ।

प्रकाशित: ५ मंसिर २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...