
काठमाडौं ।
यसवर्ष सन् २०२० को “सिंगल्स डे” सपिङ मेलाका अवसरमा चिनियाँ उपभोक्ताले १०० अर्ब डलरभन्दा बढीको सामान खरिद गरेका छन् ।
गत नोभेम्बर १ देखि ११ दिनसम्म भएको यस मेलामा टाओबाओ र टीमलबाट ७५ अर्ब डलर बराबरको सामान बिक्री भएको छ । यी दुबै इकमर्श प्लेटफर्महरु चीनको सबैभन्दा ठूलो इकमर्श कम्पनी अलिबाबाले सञ्चालन गरेको हो ।
पछिल्लो २४ घण्टामा मात्रै ३८ अर्ब ४० करोड डलर बराबरको सामान बिक्री भएको अलिबाबाले जनाएको छ ।
अर्को प्रतिस्पर्धी चिनियाँ कम्पनी जेडी डट कमले पनि ४० अर्ब ९० करोड डलर बराबरको सामान बिक्री गरेको छ । विश्वमै सबैभन्दा ठूलो सपिङ मेला ठानिएको चिनियाँ सिंगल्स डे मेला पछिल्ला वर्षहरुमा निकै लोकप्रिय भइरहेको छ ।
यस मेलामा उपभोक्ताले विभिन्न किसिमका सामानमा भारी छुट पाउने गर्दछन् ।
यस मेलामा साना खुद्रा पसलेदेखि ठूला र विश्व प्रसिद्ध ब्रान्डका सामान पाइन्छन् । एप्पल, नाइक र लोरियल समेतका लोकप्रिय ब्रान्डका सामान पनि अनलाइनमा सस्तोमा र भारी छुटमा पाइने गर्दछ ।
यस पटकको मेलामा एप्पलको आईफोन, लोरियलका उत्पादनहरु र सार्पको स्मार्ट टिभी धेरै बिक्री भएको बताईएको छ ।
यस प्रकारको मेला सन् २००९ देखि शुरु भएको हो । अमेरिकामा संचालित ब्लाक फ्राइडे र साइबर मन्डे मेला झैं सिंगल्स डे चीनमा लोकप्रिय छ ।
नोभेम्बर ११ तारिखलाई चीनमा सिंगल्स डेको रुपमा मनाउने गरिन्छ जसलाई अलिबाबाले व्यवसायीकरुपमा परिवर्तन गरेको छ ।
नेपालमा पनि अलिबाबाको लगानी भएको कम्पनी दराजले नोभेम्बर ११ तारिखको अवसर पारेर सेल ११.११ आयोजना गरेको थियो । एजेन्सीका साथ
प्रकाशित: २७ कार्तिक २०७७, बिहीबार