गूगल मिटमा अब चाहेअनुसारको तस्वीर राखेर पृष्ठभूमि परिवर्तन गर्न सकिने

  • Technology Khabar | १६ कार्तिक २०७७, आईतवार
गूगल मिटमा अब चाहेअनुसारको तस्वीर राखेर पृष्ठभूमि परिवर्तन गर्न सकिने

काठमाडौं ।

गूगलले आफ्नो भिडियो कन्फ्रेन्सिङ्ग सेवा ‘गूगल मिट’मा निकै प्रतिक्षित फिचर थप गरेको छ । अब गूगल मिटमा प्रयोगकर्ताले चाहेको पृष्ठभूमि प्रयोग गर्न सकिने भएको हो।

कम्पनीले केहीदिन अघि ब्लग पोष्टमार्फत यस भिडियो कन्फ्रेन्सिङ्ग प्लेटफर्मको लागि अनुकूल कस्टमाइज ब्याकग्राउण्डहरु प्रस्तुत गरेको घोषणा गरेको थियो।

नयाँ सुबिधाका साथमा प्रयोगकर्ताले भिडियो कलको समयमा आफ्नो रोजाइको पृष्ठभूमि तस्वीर राख्न सक्छन्। यसमा अब तपाईँले आफूले चाहेको कुनै तस्वीर वा गूगलले नै उपलब्ध गराएको ल्याण्डस्केप तस्वीरहरु प्रयोग गर्न सक्नुहुनेछ ।

यो सुबिधाका साथमा अब तपाईँको पछाडीको भागमा देखिने कार्यालय वा कुनै कोठाको दृश्यलाई हटाउन सकिने छ र आकर्षक तस्वीर ब्याकग्राउण्डमा राख्न सक्नुहुनेछ ।

यसका साथै गूगलले मिटका लागि ब्याकग्राउण्डमा हुने अनावश्यक साउण्डलाई फिल्टर गर्ने तथा ब्याकग्राउण्ड दृश्यलाई ब्लर अर्थात धमिलो बनाउने क्षमतालाई समेत थप गरेको छ ।

गूगल मिटमा पृष्ठभूमिको तस्वीर परिवर्तन गर्नका लागि अब सिधै तपाईँको ब्राउजरबाट नै सकिने भएको छ र यसको लागि कुनै तेस्रो पक्षिय एपको आवश्यकता पर्दैन् ।

प्रयोगकर्ताले आफ्नै फोटो कलेक्सन वा गूगल लाइब्रेरीमा रहेको फोटोहरु प्रयोग गर्न सक्छन्। गूगलले प्रदान गर्ने फोटाहरुमा भने ल्याण्डस्केप, कला र अफिसको फोटो रहेको छ।

हाल यो सुबिधा वेब र डेस्कटप भर्सनमा मात्र रहेको छ भने मोबाइलमा भने यो फिचर चाँडै आउने जानकारी दिएको छ।

सन् २०१७ मार्चमा भिडियो कन्फ्रेन्सिङ्ग सेवाको लागि गूगलले मिट शुरु गरेको थियो । कोरोना भाइरसको महामारीसँगै गूगल मिटमा प्रयोगकर्ता बढेसँगै कम्पनीले यस सेवामा थुप्रै नयाँ फिचर थप्दै लगिरहेको छ। गत जनवरीदेखि अप्रिलसम्ममा यसमा दैनिक १०० मिलियन यूजर्सले प्रयोग गरिरहेका थिए । एजेन्सी

प्रकाशित: १६ कार्तिक २०७७, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...