दूरसञ्चार सेवा प्रदायकहरुलाई कागजात धुल्याउने बाटो खुल्यो, डिजिटल प्रति अनिवार्य राख्नुपर्ने

  • Technology Khabar | ४ कार्तिक २०७७, मंगलवार
दूरसञ्चार सेवा प्रदायकहरुलाई कागजात धुल्याउने बाटो खुल्यो, डिजिटल प्रति अनिवार्य राख्नुपर्ने
फाइल फोटो: नेपाल दूरसञ्चार प्राधिकरणको पुरानो कार्यालय भवन

काठमाडौं ।

दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायक कम्पनीले आफ्ना ग्राहकहरुलाई सेवा दिएको बखतका पुराना कागजातहरु धुल्याउन सक्ने भएका छन् । त्यस्तो कागजातको डिजिटल प्रति राखेर कागजात धुल्याउन सक्नेगरी नयाँ विनियमावली आएको छ ।

नयाँ विनियमावलीसँगै ग्राहकसँग सम्बन्धित पुराना कागजात धुल्याउने बाटो खुलेको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणले हालै कार्यान्वयनमा ल्याएको ‘दूरसञ्चार सेवा प्रदायकले सङ्कलन गरेको ग्राहकको फारामलगायतका कागजात धुल्याउने विनियमावली, २०७७’ ले कागजात धुल्याउन सकिने व्यवस्था गरेको हो ।

प्राधिकरण बोर्ड बैठकबाट गत असोज २३ गते पारित सो विनियमावलीले डिजिटल प्रणालीमा प्रविष्ट ग्राहकसँग सम्बन्धित पुराना कागजात तथा फाराम धुल्याउन सक्ने व्यवस्था गरेको छ ।

विनियमावली अनुसार सेवा प्रदायकहरूले धुल्याउन सकिने किसिमका कागजातहरुको सूची पनि समेत तोकेछ । जसमा सिम वितरण गर्दा ग्राहकले भरेको फाराम, ग्राहकको फोटोको प्रति, नागरिकता, राहदानी र परिचय खुल्ने अन्य कागजातको प्रतिलिपि, केवाईसी फाराम र सेवा प्रदायकले भराएको अन्य कुनै फाराम नष्ट गर्न वा धुल्याउन सक्ने व्यवस्था छ ।

यसरी धुल्याउँदा धुल्याउने दिन निश्चित गरी कुन मितिदेखि कुन मितिसम्म र कुन विषयको कागजात धुल्याउने हो ति सबै कागजातको अभिलेख खडा गर्नुपर्ने प्रावधान राखिएको छ ।

त्यस्तै धुल्याउने दिन धुल्याउन खडा गरिएको डिजिटल प्रतिअनुसार कागजात छ वा छैन, ती कागजात धुल्याउन सकिने हो वा होइन, यकिन गरी रजिस्टरमा सम्बन्धित प्रतिनिधिका सदस्यले दस्तखत गरेर मात्र धुल्याउनुपर्ने छ । कागजात धुल्याउने काम सकिएपछि धुल्याइएका कागजातको रजिस्टर प्रमाणित गरी सुरक्षित राख्नुपर्ने छ भने धुल्याइसकेका कागजातको डिजिटल प्रति माथिल्लो निकायले मागेको बखत जुनसुकै समयमा उपलब्ध गराउन सक्ने ढाँचामा पनि राख्नुपर्ने छ ।

यस्ता कागजात अनिवार्य रूपमा डिजिटल माध्यममा रेकर्ड गरेर सुरक्षित गरेर मात्र धुल्याउन अनिवार्य गरिएको छ ।

त्यसैगरि धुल्याउने कार्यका लागि प्राधिकरणले निर्देशन दिन सक्ने प्रावधान राखिएको छ भने मागेको बेलामा धुल्याईएका कागजातको डिजिटल कपी उपलब्ध गराउनुपर्नेछ।

तर सो विनियमावलीमा कति अवधि वा कति समयको कागजातलाई धुल्याउन सकिने भन्ने कुनै स्पष्ट उल्लेख गरिएको छैन् ।

Customer-form-and-other-customr-related-documet-disposal-Bylaws-2077

प्रकाशित: ४ कार्तिक २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार