काठमाडौं ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले कोरोना संक्रमणको स्थितिलाई मध्यनजर गर्दै रोबोट निर्माण गरेको छ । नास्टले सोमबार एक कार्यक्रम गरी सो रोबोट सार्वजनिक गरेको छ ।
‘यान्त्रिका (Yantrika 0.1)कोरोना कम्प्याक’ नाम दिइएको उक्त रोबोटले कार्यालयमा पस्दा वा निस्कँदा हात जोडेर अभिवादन गर्ने, माक्स लगाएको नलगाएको छुट्याउने र नलगाएकोलाई मास्क दिने, सेनिटाइर दिने लगायतको काम गर्नेछ ।
यो रोबोट कुनैपनि कार्यालयका लागि अन्त्यन्तै उपयुक्त हुने पनि नाष्टले बताएको छ ।
नाष्टका इन्जिनियर रोशन पाण्डेका अनुसार रोबोटले मानिसको शरिरको तापक्रम नाप्ने, सेनिटाइजर दिने, मास्क नलगाएको खण्डमा मास्क दिने काम गर्नेछ । यो रोबोटलाई हाल नाष्टकै प्रवेशद्धारमा राखिनेछ ।
कोरोनाको प्रभावलाई कार्यालयमा पस्दा तथा निस्कदा प्रभावकारी रुपले नियन्त्रण गर्न सक्ने उद्देश्यले रोबोट निर्माण गरिएको पनि पाण्डेले बताए ।
त्यस्तै, रोबोटले समेत मास्क दिने, कोभिडको बारेमा सूचना दिने गर्दा यसले जनचेतना मुलक सन्देश दिने समेत उनले बताए ।
हाल यो रोबोटको बीटा भर्सनमा मात्र रहेको नास्टले जानकारी दिएको छ भने यसलाई इनोभेटिभ ग्रुपको प्राविधिक सहयोगमा तयारी पारिएको हो ।
नास्टकाअनुसार यान्त्रिका ०.१ भर्सनमा रहेको रोबोटलाई आगामी वर्षहरुमा अपग्रेड गर्दै लगिनेछ ।
प्रकाशित: ३ कार्तिक २०७७, सोमबार