फोनमा एक मिनेट कुरा गरेको २५ रुपियाँ शुल्क !

  • Technology Khabar | १ कार्तिक २०७७, शनिबार
फोनमा एक मिनेट कुरा गरेको २५ रुपियाँ शुल्क !
सांकेतिक तस्विर

काठमाडौं ।

मोबाइल सेवा सबैतिर सहज र सस्तो भइरहेको बेला हिमालपारिको गाउँ लिमीमा फोनमा एक मिनेट कुरा गरेको २५ रुपियाँ शुल्क लाग्ने गरेको छ ।

टेलिकमले हालसम्म मोबाइल टावर नबनाउँदा भिस्याटबाट फोन गर्नुपरेपछि सर्वसाधारणले चर्को शुल्क तिरेर कुरा गर्नुपरेको छ ।

सेवाग्राही बलबहादुर लामाले नाम्खा गाउँपालिका–६ को हिमालपारिको लिमीको तीलगाउँमा नेपाल टेलिकमको भिस्याट फोनमा प्रतिमिनेट २५ रुपियाँ शुल्क लाग्ने गरेको बताए । दुर्गम स्थानमा उनले अहिलेको जमानामा पनि टेलिफोन सेवा धेरै महँगो भएको गुनासो गरे । शुल्क महँगो भए पनि आवाज स्पष्ट नसुनिने समस्या भने जस्ताको तस्तै छ ।

सोलारबाट सञ्चालनमा आएको टेलिफोन सेवामा एक मिनेट २० सेकेन्ड भए ५० रुपियाँ शुल्क लाग्ने गर्छ । टेलिफोन सेवा सञ्चालक कुञ्जोकछिरिङ तामाङले सोलारबाट सञ्चालन गर्नुपर्ने भएका कारण टेलिफोनको शुल्क महँगो भएको बताए।

कुरा गरेको प्रतिमिनेट २५ र आगमन कलको १० रुपियाँ शुल्क लिने गाउँको निर्णयबाट भएको हो । यसैबाट टेलिफोन सञ्चालकलाई पारिश्रमिक दिने गरिन्छ ।

चीनको ताक्लाकोट अन्य विदेशमा फोन गर्नुपरे प्रतिमिनेट ८० रुपियाँ लाग्ने गरेको छ । पाँच वर्षअगाडि साबिकको गाउँ विकास समितिको आर्थिक सहयोगमा भिस्याट टेलिफोन सेवा स्थापना भएको थियो । सञ्चारको अन्य माध्यम नभएको तीलगाउँमा भिस्याट मात्र घाम लागेको बेला सञ्चार सम्पर्क गर्ने माध्यम भएको छ ।

स्थानीय राङ्डोल तामाङले लिमीका लागि टेलिकमले मोबाइल टावर स्थापना गरेर सञ्चालनमा ल्याएको भए टेलिफोन सेवा यति महँगो नहुने बताए।

लिमीका तीन गाउँका लागि मोबाइल टावर राख्ने भनेको तीन वर्ष भए पनि हालसम्म स्थापना हुनसकेको छैन । लिमीका अन्य दुई गाउँ जाङ र हल्जीमा पनि भिस्याट टेलिफोन सञ्चालनमा रहेको छ । आजको गोरखापत्रबाट

प्रकाशित: १ कार्तिक २०७७, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

गुगल आई/ओ आगामी मे १९ र २० मा आयोजना हुँदै

  • Technology Khabar
  • १ कार्तिक २०७७, शनिबार