
काठमाडौं ।
विश्व लगानीकर्ता सप्ताह २०२० को तेस्रो कार्यक्रमको रुपमा नेपाल धितोपत्र बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी आधारभूत ज्ञान हाशिल गर्न चाहने स्कूल तथा कलेजका विद्यार्धीहरु र आमलगानीकर्ताहरुलाई लक्षित गरी बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी लगानीकर्ता हाते पुस्तक, २०२० तयार गरी प्रकाशन गरेको छ ।
त्यस्तै सुचिकृत कम्पनी तथा अन्य बजार सहभागीहरुले नियमन व्यवस्था अनुरुप बोर्डमा पेश गर्नुपर्ने वित्तीय तथा अन्य विवरणहरु विद्युतीय माध्यम मार्फत पेश गर्नसक्ने प्रणाली Electronic Reporting and Retrieval System-ERRS समेत प्रयोगमा ल्याएको छ ।
यस व्यवस्थाबाट अव बोर्डबाट इजाजतपत्र प्राप्त संस्था र निश्कासनकर्ता एवं सुचिकृत संगठित संस्थाहरुले भौतिक रुपमा विवरहरु पेश नगरी आफ्नै कार्यालयबाट विद्युतीय माध्यममार्फत आवधिक वित्तीय विवरण तथा अन्य विवरणहरु पेश गर्न सक्नेछन ।
लगानीकर्ताको लागि हाते पुस्तकको बिमोचन र प्रणालीको शुरुवात बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले गरेका थिए ।
त्यस्तै नियमन व्यवस्था अनुरुप सुचिकृत संगठित संस्थाले लगानीकर्तालाई उपलब्ध गराउनुपर्ने सूचना, जानकारी तथा विवरण लगानीकर्ताहरुले समेत प्राप्त गर्न सक्ने गरी विकास गरिएको ERRS को माध्यमबाट आम लगानीकर्ताले न्यून प्रयास तथा लागतमा प्राप्त गर्न सक्षम हुनेछन् । बोर्डले आगामी दिनमा क्रमशः धितोपत्र बजार सम्बन्धी अन्य गतिविधीहरु त्था प्रकृयाहरुलाई पनि प्रविधि मैत्री बनाउँदै लैजाने छ ।
सो प्रणालीको प्रयोगबाट बजारमा सूचना प्रवाह तथा नियमको परिपालना कार्य सहज हुनुका साथै बजार सहभागीहरुको कानुन परिपालना लागतमा कमी आउने बताईएको छ ।
बोर्डले लगानीकर्ताको सुसूचित हुन पाउने अधिकारलाई समेत दृष्ट्रिगत गरी संचालनमा ल्याइएको विद्युतीय विवरण प्रवाह तथा प्राप्ती प्रणाली एवं हाते पुस्तकको प्रकाशनबाट आमलगानीकर्ताहरुले धितोपत्रमा गर्ने लगानी सुसूचित हुन गई धितोपत्र बजार स्वच्छ, पारदर्शी तथा प्रतिस्पर्धी हुने अपेक्षा गरिएको छ ।
यसका साथै प्रकाशित हाते पुस्तक, २०२० (अग्रेजी संस्करण) ले विद्यार्थी, सर्वसाधारण लगानीकर्ता तथा अन्य सरोकारवाला सबैको वित्तीय साक्षरतामा अभिवृद्धि गर्ने र यसबाट लगानी सम्बन्धी सुसूचित निर्णय लिन सहज हुने कुरामा बोर्ड विश्वस्त रहेको जनाएको छ ।
प्रकाशित: २६ आश्विन २०७७, सोमबार