
काठमाडौं ।
गूगलले आफ्नो प्ले स्टोरबाट करीब २४० वटा मोबाइल एपहरुलाई हालै हटाईदिएको छ ।
एन्ड्रोइड फोनमा रहेका ती एपले प्रयोगकर्तामाथि गूगलको नियम उलंघन गरेको र अनधिकृत गतिबिधि गरेको पाएसँगै गूगलले ब्लक गरिदिएको हो ।
ती २ सय ४० वटा एपले एन्ड्रोइड प्रयोगकर्ताहरुलाई विभिन्न किसिमका अनावश्यक विज्ञापनहरु देखाउने लगायतका कार्य गरीरहेका थिए र गूगलको नियम उल्लंघन गर्ने गरेका थिए।
गूगलको सेक्युरिटी समूहले ती एप्लिकेसनविरुद्ध कारवाही गर्ने निर्णय गरेसँगै एपहरुलाई ब्लक गरिएको हो । त्यसरी ब्लक भएका एपहरुमा अधिकांश RAINBOWMIX ग्रुपका रहेका छन् । जसमा पुराना गेमहरु समेत छन् ।
सो ग्रुपका एपहरु हरेक दिन झण्डै १ करोड ४० लाख मानिसहरुले प्रयोग गर्दै आएका छन् । ती एपहरुले प्याकर सफ्टवेयरको माध्यमबाट हरेक दिन १ करोड ५० लाख प्रयोगकर्तासामु विभिन्न खालका विज्ञापनहरु देखाउने गरेका थिए ।
अनावश्यक तथा भ्रमपूर्ण विज्ञापन देखाएर दुःख दिएका ती एपहरु ब्लक गरेसँगै गूगलले आफ्ना एन्ड्रोइड फोनबाट RAINBOWMIX ग्रुपका एपहरु भएमा तत्कालै डिलिट गर्न यूजर्सलाई आग्रह गरेको छ ।
लामो समयदेखि गूगलका नियमहरु उल्लंघन गर्दै आएको उक्त ग्रुपका विषयमा विषयमा शोधकर्ताहरुले White Ops नामक संस्थाको सहयोगमा यो स्क्यामको खुलासा गरेका थिए ।
वास्तवमा अनावश्यक एपहरुका कारण फोन प्रयोगकर्ताहरुलाई प्रयोगमा असहजता हुने मात्र होइन फोनको स्पीडमा पनि नकारात्मक असर पर्दछ । सोही कारण गूगलले यस्तो कदम चालेको हो । एजेन्सी
प्रकाशित: २६ आश्विन २०७७, सोमबार