Technology Khabar २२ आश्विन २०७७, बिहीबार
काठमाडौं ।
इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले फेसबुकसँगको सहकार्यमा पब्लिक वाईफाई उपलब्ध गराउने भएको छ ।
वर्ल्डलिंकले फेसबुकको एक्सप्रेस वाईफाई प्लेटफर्ममार्फत नेपालभर सार्वजनिक वाईफाई उपलब्ध गराउने भएको छ ।
दुबै कम्पनीहरुले आज पत्रकार सम्मेलनमार्फत सहकार्य गरेको घोषणा गरेको छ ।
यसअन्तरगत अहिले वर्ल्डलिंकले देशभर उपलब्ध गराएको १० हजार भन्दा बढि सार्वजनिक वाईफाईमध्ये ७ हजार ५ सय स्थानका वाईफाईका लागि सहकार्य गरेको छ ।
कार्यक्रममा वर्ल्डलिंकका अध्यक्ष दिलिप अग्रवालले यो सहकार्यले अझ पहुँचमा नभएका मानिसहरुलाई इन्टरनेट पहुँचमा ल्याउने बताए ।
‘हामीलाई सरकारले स्पेक्ट्रम दिएको छैन र नदिँदा समस्या भएको छ, तर पनि फेसबुकसँगको सहकार्यमा पब्लिक वाईफाई व्यवस्थापन गर्न सहयोग हुनेछ,’ अध्यक्ष अग्रवालले भने ।
उनले आगामी दिनमा इन्टरनेट सेवा प्रदायकहरुलाई समेत सरकारले स्पेक्ट्रम दिएर सहयोग गर्नुपर्ने बताए । सरकारले मोबाइल स्पेक्ट्रममार्फत डाटा र इन्टरनेट दिने कुनै कानून आएमा सहज हुने बताए ।
उनले यूजर्ससँग रकम नलिने भन्दै यसमा विज्ञापनमार्फत आगामी दिनमा मनिटाईज गरिने जानकारी दिए ।

त्यसैगरि फेसबुकका ग्रोथ म्यानेजर अमित सिंहले सार्वजनिक वाईफाईमार्फत राम्रो अनुभव दिनका लागि सहकार्य गरिएको भन्दै यसले पब्लिक वाईफाई म्यानेजमेन्ट गर्ने बताए ।
हाल वर्ल्डलिंकले १० हजार हटस्पटमार्फत ५ लाख भन्दा बढि मानिसहरुलाई सार्वजनिक वाईफाई सेवा प्रदान गरिरहेको जानकारी दिएको छ ।
यससेवा अन्तरगत सेवाग्राहीहरुले फेसबुकसँग समेत डाटा शेयर गर्नुपर्नेछ भने अधिकतम ५०० एमबिसम्म मात्र डाटा प्रयोग गर्न सकिनेछ। कम्पनीले अवस्था र स्थान हेरेर अधिकतम सेवा र समय सीमा राखिएको जानकारी दिएको छ ।
प्रकाशित: २२ आश्विन २०७७, बिहीबार