एप्पल र सामसङले भारतमा स्मार्टफोन निर्माण गर्ने, सरकारी अनुदानका लागि छनौट

  • Technology Khabar | २१ आश्विन २०७७, बुधबार
एप्पल र सामसङले भारतमा स्मार्टफोन निर्माण गर्ने, सरकारी अनुदानका लागि छनौट

काठमाडौं ।

भारतले आगामी ५ बर्षमा घरेलु स्मार्टफोन उत्पादन बढाउन संघीय योजना ल्याएको छ।

यस योजना अन्तर्गत, कुल १६ वटा फर्महरु मध्ये सामसङ र एप्पलका तीन अनुबन्धन पार्टनरहरुसमेत ६.६५ अर्ब डलर बराबरको राजस्व छुट अनुदानका लागि छनौट भएको टेकक्रन्चको रिपोर्टमा उल्लेख छ।

यी कम्पनीहरूले यस वर्षको अगस्तमा प्रोत्साहन कार्यक्रमको लागि आवेदन दिएका थिए।

छनौट भएका कम्पनीहरूले आगामी ५ बर्षमा १४३ अर्ब डलरभन्दा बढीको स्मार्टफोन र अन्य इलेक्ट्रोनिक्स कम्पोनेन्टहरू उत्पादन गर्नेछन्।

यसको बदलामा भारतले उनीहरूलाई स्थानीय रूपमा उत्पादन हुने सामानको बिक्रीमा ४ प्रतिशतदेखि ६ प्रतिशतको प्रोत्साहन प्रस्ताव ५ बर्षको अवधिमा गर्नेछ, र यसको लागि आधार वर्ष सन् २०१९/२०२० हुनेछ।

भारतको इलेक्ट्रोनिक्स र सूचना प्रविधि मन्त्रालयकाअनुसार, स्थानीय रूपमा उत्पादन हुने उत्पादनहरु मध्ये करीव ६० प्रतिशत निर्यात गरिने छ।

कम्पनीहरूले आगामी पाँच बर्षमा २ लाख भन्दा बढी प्रत्यक्ष रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएकोछ र समान अवधिमा ६ लाख अप्रत्यक्ष रोजगारीको अवसर सिर्जना हुने मन्त्रालयले जनाएको छ।

‘एप्पल र सामसङको संयुक्तरुपमा मोबाइल फोनको विश्वव्यापी बिक्री राजस्वको ६० प्रतिशत हिस्सा रहेको छ र यो योजनाले देशमा उनीहरूको उत्पादनको आधारमा धेरै गुणा बढ्ने अपेक्षा गरेको छ,’ मन्त्रालयले भनेको छ।

भारतीय उत्पादक लावा, भगवती (माइक्रोम्याक्स), प्याजेट इलेक्ट्रोनिक्स, यूटीएल नियोलिन्क्स र अप्टिमस इलेक्ट्रोनिक्सले पनि स्वीकृति पाएका छन्।

सूचीबाट हराइरहेको चिनियाँ स्मार्टफोन निर्माताहरू ओपो, भिभो, वनप्लस र रियलमी हुन् जसले कार्यक्रमका लागि आवेदन दिएका थिएनन्।

प्रकाशित: २१ आश्विन २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...