
काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को सञ्चालक समितिले सूचना प्रविधि (आईटी) नीति पास गरेको छ।
तर आईटी नीति भित्रै पर्ने एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस (एपीआई) नीति भने अनुमोदन भएको छैन । आईटी नीति अन्तर्गत नै राखेको एपीआईको लागि छुट्टै कार्यविधी बनाउन धितोपत्र बोर्डले यसअघि नै निर्देशन दिएको हुँदा अन्तिम रुप दिन बाँकी रहेको छ ।
आईटी नीति पास भएसँगै नेपाल धितोपत्र बोर्डले सो नीति लागू गर्नका निम्ति नेप्सेलाई अनुमति दिनुपर्छ ।
नेप्सेका प्रवक्ता मुराहरी पराजुलीकाअनुसार नेप्सेको सञ्चालक समितिले केहि दिनअघि आईटी नीति पास गरेको हो ।
‘त्यसमा बिस्तृतमा के छ भनेर मैले पनि जानकारी पाएको छैन् । केहि दिनभित्रै हामी सावर्जनिक गर्नेछौं,’ उनले भने ।
नेप्सेले आईटी नीतिमा डाटाको सुरक्षा, डाटा इन्स्टल, फायरवाल, सावधानी लगायत समावेश भएको जनाएको छ।
अब नेप्सेको लाइभ डाटा प्राप्त गर्न नीतिअन्तर्गत रही कार्यविधि बनेपछि टीएमएस बनाउन ब्रोकरहरुलाई एपीआई दिने नेप्सेको तयारी छ ।
यसअघि नेप्सेको प्राविधिक तथ्यांकहरु अनुमति बिना नै अन्य कम्पनीहरुले लिने गरेको भन्दै नेप्सेले त्यसो नगर्न चेतावनी दिएको थियो ।
यसैबिच नेप्सेले संस्थाको सूचना प्रविधि (आईटी) अडिट गराउने भएको छ । संस्थाले केहि दिनअघि सार्वजनिक सूचना निकालेर इच्छुक संस्थाहरुलाई नेप्सेको आईटी अडिट गर्नका लागि आवेदन माग गरेको हो । सूचनाअनुसार यहि अक्टोबर ११ तारिखभित्र नेप्सेमा आवेदन पेश गर्नुपर्नेछ ।
आईटी अडिट गर्ने कम्पनीले नेप्सेले प्रयोग गरेको र अधिनमा रहेको सिस्टमको अडिट गर्नुपर्नेछ ।
प्रकाशित: १४ आश्विन २०७७, बुधबार