नेपाल टेलिकमले ५० मिटर अग्लो टावर बर्दियामा निर्माण गर्दै, ग्रामीण क्षेत्रमा सञ्चार पहुँच बढ्ने

  • Technology Khabar | २७ भाद्र २०७७, शनिबार
नेपाल टेलिकमले ५० मिटर अग्लो टावर बर्दियामा निर्माण गर्दै, ग्रामीण क्षेत्रमा सञ्चार पहुँच बढ्ने
स्याङ्गजामा रहेको नेपाल टेलिकमको टावर । फाइल फोटो

काठमाडौं ।

बर्दियाको बारबर्दिया नगरपालिका–९ मा रहेका खैरेनी र ढकेला तथा बाँसगढी नगरपालिकाको थुम्नी गरी तीनवटा गाउँका करिब आठ सय घर परिवारले अब सहजै सञ्चारको उपयोग गर्न पाउने भएका छन् ।

अत्यावश्यक कामका लागि फोन गर्न घरको छत र रूखमा चढ्नुपर्ने तथा खेतको आलीमा पुग्नुपर्ने बाध्यताको अन्त्य हुने भएको छ ।

तीनवटा गाउँलाई लक्षित गरी नेपाल टेलिकमले टावर निर्माण कार्य सुरु गरेपछि उनीहरूको बाध्यता अन्त्य भएको हो । पर्यटकीय क्षेत्र रहेको खैरेनी गाउँमा प्रदेश सभा सदस्य तिलक शर्मा हिमाल र बारबर्दिया नगरपालिकाको पहलमा नेपाल टेलिकमले ५० मिटर अग्लो टावरको निर्माण सुरु गरेको हो। यति धेरै उचाइ भएको यो टावर नेपालमा नवौँ हो ।

टेलिकमका अनुसार यसअघि आठवटा मात्र ५० मिटरका टावर निर्माण भएका छन् । चारैतिर जङ्गल हुनाले टावरको उचाइ ५० मिटरको बनाउनुपरेको प्राविधिकको भनाइ छ ।

टावरको उचाइ बढाउनुपर्ने भएकाले सोचेभन्दा ढिला निर्माणको सुरुवात भएको प्रदेश–५ का प्रदेश सभा सदस्य तिलक शर्माले बताए । उनले लामो समयको प्रयासपछि खैरेनी लगायत बर्दिया जिल्लामा नौवटा स्थानमा टावर स्थापना गर्न सफल भएको बताए । बर्दिया जिल्लाकै चर्चित प्राकृतिक ताल सत्खलुवा ताल र खैरेनी गाउँमा रहेको सत्खलुवा होमस्टेमा पर्यटकको चाप बढ्दै गएको छ ।

आन्तरिक र बाह्य पर्यटकको उपस्थिति रहने सो स्थानमा सञ्चारको सुविधा नहुँदा थप स्थानीयवासीले सास्ती भोगेका थिए । बारबर्दिया नगरपालिकाका नगरप्रमुख दुर्गाबहादुर थारू कविरले बारबर्दिया र बाँसगढी नगरपालिकाका करिब आठ सय घरधुरीलाई यस टावरले सञ्चार सुविधा दिने बताए ।

सञ्चारको पहुँचसँगै यस क्षेत्रमा आउने पर्यटकको सङ्ख्या पनि बढ्ने अनुमान गरिएको छ । सत्खलुवा ताल घुम्न, तालमा पानी खान आउने जङ्गली जनावरको अवलोकन गर्न र सत्खलुवा होम‚टेमा थारू लगायतका विभिन्न समुदायका स्थानीय परिकार खान पर्यटक आउने गर्दछन् ।

गोरखापत्रबाट

प्रकाशित: २७ भाद्र २०७७, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...